• ३० असोज २०८१, बुधबार

पूर्वी टर्की ५.९ म्याग्निच्युडको भूकम्प

blog

इस्तानबुल, असोज ३० गते । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७।८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

“हाल, ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,“ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताउनुभयो ।

उहाँले एक सय ८७ जना भूकम्पबाट प्रभावित भएका र तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेको र धेरैलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

मालात्याका स्थानीय अधिकारीहरूले पनि यस स्तरमा रिपोर्ट गर्नका लागि कुनै ‘नकारात्मक घटनाहरू’ नभएको बताए । यद्यपि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिने बताउनुभयो ।

एएफपीका संवाददाताहरूका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।

टर्किश टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरू अनुसार धेरै शहरका बासिन्दाहरू सडकमा निस्किएका थिए । रासस,एएफपी