• ३० असोज २०८१, बुधबार

रोजगार, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्न सहिद परिवारको माग

blog

अमरराज नहर्की

तनहुँ, असोज ३० गते । विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारले उनीहरूका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा बुधबार गरिएको अमर प्रहरीका परिवारलाई गरिएको सम्मान कार्यक्रममा माग राखेका हुन् । 

योगदानलाई मूल्याङ्कन गर्दै सरकारले सहिदका सन्तानलाई रोजगार, शिक्षा र स्वास्थ्य सुनिश्चित गरिनु पर्ने अधिकांशको माग थियो । २०६३ साल कपिलवस्तुमा भएको भिडन्तमा सहादत प्राप्त गर्नुभएका नवीन गुरुङको श्रीमती मिनु गुरुङले पेन्सनको रकमले मात्रै परिवार चलाउन नसकेको बताउनुभयो। 

व्यास नगरपालिका–११ निर्बु निवासी गुरुङले रकमको अभावले गर्दा जेठो छोरो साजन गुरुङले उच्च शिक्षा अध्ययन नगरी छोडेको बताउनुभयो । कान्छो छोरो रोशन पनि १२ पास गरेको तर रोजगारीको अवसर स्वदेशमा पाइने अवस्था नभएकोले जापान जानको लागि भाषा सिकिरहेको बताउनुभयो ।

अमर प्रहरी परिवार शुक्लागण्डकी नगरपालिका निवासी निर्मला लामिछानेले अमर प्रहरी सन्तानहरूलाई नेपाल प्रहरीले प्रदान गर्ने सेवासुविधाहरु कम भएकोले थप्नुपर्ने बताउनुभयो । उहाँले अमर परिवार सन्तानहरूले प्राप्त गर्दै आएको सेवा सुविधाहरूले नपुग्ने भन्दै थप्नुपर्ने माग राख्नुभयो । 

प्रहरीले शिक्षामा दिने छात्रवृत्तिले १८ वर्ष पुग्ने वेलासम्म मात्रै भएको तर उच्च शिक्षामा नपुग्ने भएकोले सो तहसम्म पनि छात्रवृत्ति दिइनेपर्ने बताउनुभयो । स्वास्थ्यमा पनि उपचारको व्यवस्था गरिनुपर्ने र पढेलेखेका अमर प्रहरीका सन्तानहरू रोजगारी नपाएर भौँतारिएको गुनासो गर्नुभयो । लामिछानेले भन्नुभयो, "योग्यता अनुसार रोजगारीको सुनिश्चित गर्न सकेमात्रै राहत दिएको ठहरिन्छ ।" पटक-पटक माग राखे पनि माग पुरा नभएपछि माग राख्न छाडेको लामिछानेले बताउनुभयो । लामिछानेको एक छोरा हुनुहुन्छ । 

२०५७ साल असोजमा बाँकेमा भएको भिडन्तमा श्रीमान् प्रकाश लामिछानेले सहादत प्राप्त गरेको जानकारी उहाँले दिनुभयो । सङ्गठनको नाम उच्च राख्ने अमर प्रहरीको माग पुरा गर्न नेपाल प्रहरीले पहल कदमी गर्नु पर्ने बताउनुभयो ।

नेपाल पूर्वप्रहरी सङ्गठन तनहुँका अध्यक्ष पूर्व प्रहरी निरीक्षक सुरज रानाभाटले अदम्य शाह र वीरतापूर्वक लडेर सर्वोच्च बलिदानी दिएका नेपाल प्रहरीका शहीद सम्मानमा ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । सरकारबाट सहिद परिवारलाई हालसम्म उपलब्ध सहयोगबाट उहाँहरूको सहज जीवन यापन गर्न कठिनाइ भई रहेको बताउनुभयो । सहिद परिवारजनका बालबालिकाको लागि प्रहरी नियमावली र सरकारी सेवाको लागि छुट्टाइएको कोटा अत्यन्त न्यून रहेकोले सरकारले सेवामा प्राथमिकताको प्रत्याभूति हुनुपर्ने सहिद परिवारको माग रहेको बताउनुभयो ।

‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ भन्ने नाराका साथ प्रहरी दिवसको अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका २० जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो  । कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सहभागी हुन आएका अमर प्रहरीका परिवारहरू निकै भावुक बनेका थिए । उनीहरूले आफ्नो आशु थाम्न सकेनन् । सम्मान गर्नु अघि अमर प्रहरी स्मारकमा पुष्पा अर्पण गरिएको थियो । 

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई  नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताउनुभयो । उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताउनुभयो ।