• ३० असोज २०८१, बुधबार

बिपी राजमार्गमा यातायातको चाप बढ्दै

blog

लयमा फर्किँदै बिपी राजमार्ग । सो राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका –५ खनियाखर्कमा एक विद्युतीय सवारी साधन रिचार्ज गर्दै । तस्बिर: बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असोज ३० गते । पूर्वी तराईका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ ।

असोजको दोस्रो सातामा अबिर वर्षासँगै रोशी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा ट्रयाक सडक निर्माणसँगै यातायातको चाप बढेको स्थानीयले बताएका छन् ।

‘नेपालथोक–भकुण्डेबेसी खण्डको सडक बाढीले भत्काएसँगै दुई सातासम्म बिपी राजमार्गमा वरिपरिका बाहेक यातायात सुनसानजस्तै देखिन्थ्यो,’ कमलामाई नगरपालिका–२ चियाबारी निवासी शेरबहादुर मगरले भन्नुभयो, ‘भत्काएको ठाउँमा ट्रयाक सडक बनाएसँगै दसैँ टीकाको भोलिपल्टदेखि यातायातको चहलपहल बढ्दै गएको छ । होटलहरुको व्यापार व्यवसाय पनि बढ्दै गएको छ ।’

उहाँका अनुसार बाढीले सडक भत्काएसँगै राजमार्गमा यातायात ठप्प हुँदा यात्रुहरूलाई खाना र खाजा खुवाउन भ्याइनभ्याई हुने चियाबारीको होटल सुनसान थियो । अहिले ती होटल पनि पहिलेजस्तै लयमा फर्किदैगएका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको बेलामा उसै पनि सबैजसो बिपी राजमार्गमा यातायात चाप हुने गर्दछ ।

बर्दिबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबसी खण्डमा असोज महिनाको १०, ११ र १२ गतेको अविरल वर्षापछिको रोशी खोलामा आएको बढीले १० किलो मिटरभन्दा बढी सडक भत्काएको थियो । भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुनेगरी अस्थायी ट्रयाक सडक निर्माण गरिएको स्थानीयले बताएका छन् ।

बिपी राजमार्ग सञ्चालनमा आएसँगै राजधानी जाने र राजधानीबाट फर्किने यात्रुको लर्को लागेको छ । गोलन्जोर गाउँपालिका –५ खनियाखर्क स्थित लेकाली होटल तथा भान्सा घरका सञ्चालक विवश थापा बिपी राजमार्गमा गाडीको चाप बढेसँगै आफ्नो व्यवसायमा पनि सुधार आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बिपी राजमार्ग भत्किएर गाडी बन्द हुँदा व्यवसाय शून्य नै थियो । गाँउतिरकै दुई–चार जनाभन्दा ग्राहक कोही आउँदैनथे । गाडीको चार्ज त झन् ठप्प नै थियो । ट्रयाक सडक बनेर गाडी खुलेसँगै व्यवसायमा सुधार हुन थालेको छ ।’

गाडी बन्द हुँदा यात्रुले पाउने सास्तीसँगै सबैभन्दा बढी मार व्यवसायीलाई परेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार फूलपातीका दिनदेखि बिपी राजमार्गमा यातायात खुलेको हो । 

सडक बनेसँगै विजया दशमीको भोलिपल्टदेखि उक्त राजमार्गमा गाडीको चहलपहल बढ्न सुरु भएको हो । असोज २७ गते ९७ वटा, २८ गते ८६ वटा र २९ गते १५० भन्दा बढी यात्रुवाहक सवारी साधन बिपी राजमार्ग हुँदै बाहिरिएका छन् । प्रहरी नायब उपरीक्षक अनिल खड्काले बिपी राजमार्गमा यातायात सञ्चालनका लागि यसअघि अनुमति प्राप्त सवारीसाधन बढ्दै गएको बताउनुभयो ।