• ११ पुस २०८१, बिहिबार

शक्तिपीठमा एक हजार राँगा बोकाको बलि

blog

गोकर्ण दयाल

बैतडी, असोज ३० गते । शक्तिस्वरूपाका रूपमा विजयादशमीमा विशेष पूजा लाग्ने देवी भगवती र उदयदेव मन्दिरमा एक हजार राँगा तथा बोकाको बलि दिइएको छ । घटस्थापनादेखि नवमीसम्म यहाँका विभिन्न शक्तिपीठमा ५७८ राँगा र ४८६ बोका गरि एक हजार ६४ पशुको बलि चढाइएको छ । सात भगवती बहिनीमध्ये एक शक्तिस्वरूपा मानिने निङ्लासैनी भगवती मन्दिरमा सबैभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ । यहाँ ३१७ राँगा र १९५ बोकाको बलि दिइएको छ । सबभन्दा कम बलि त्रिपुरासुन्दरी भगवतीमा दिइएको छ । यहाँ सात राँगा र ४० बोकाको बलि दिइएको मन्दिरका मुखिया हिम्मत चन्दले जानकारी दिनुभयो । 

त्यसै गरी मेलौली भगवतीमा एक सय राँगा र १२० बोका, फालङासैनीमा १४ राँगा र सात बोका, डिलासैनी गाउँपालिका–५, स्थित कफलासैनीमा ३० राँगा र ३५ बोका, पाटन उदयदेवमा ४१ राँगाको बलि दिइएको छ । जिल्लाकै अर्को प्रसिद्ध शिवनाथ गाउँपालिकास्थित कफाडी उदयदेव मन्दिरमा ६८ राँगा र १११ बोकाको बलि दिइएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केव चन्दले बताउनुभयो । 

सुदूरपश्चिममा सोह्र भगवती 

सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मष्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ । मष्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ । 

त्रिपुरासुन्दरी (रणसैनी) भगवती 

बैतडी सदरमुकाम गोठालापानीनजिकै रहेको त्रिपुरासुन्दरी बैतडीको प्रसिद्ध धार्मिक स्थल हो । बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडकखण्डमा रहेको यो मन्दिरलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एक रण्या जौ (४० माना) मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती छ । यो मन्दिरमा प्रत्येक औँसी, पूर्णिमा, सङ्व्रmान्ति एवं चार वटा नवरात्रिमा विशेष मेला लाग्ने पुजारी पण्डित विष्णुदत्त लेखक बताउनुहुन्छ । दसैँको बेला यहाँ राँगा र बोकाको बलिसहित ठुलो मेला लाग्छ । मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड राज्यका कुमाउ–गढवालका १३ जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् । 

पुराताŒिवक महŒवको डिलासैनी 

पुर्चौडी नगरपालिका–१०, तल्लादेही र मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरलाई यहाँको प्रसिद्ध मन्दिर मानिन्छ । डिलासैनी भगवती स्थानीय बोहोरा जातिले प्राप्त गरेको लोकोक्ति छ । यो मन्दिर साके संवत् १२०३ मा बनेको शिलालेखमा उल्लेख छ । पुराताŒिवक दृष्टिले डिलासैनीमा रहेका देवलहरूको विशेष महìव छ । यी देवलहरू पाण्डव, आद्य शङ्कराचार्य र तत्कालीन समयका राजारजौटाले निर्माण गरेको किंवदन्ती र इतिहास पाइन्छ । यस प्रकारका देवलहरू कुमाउदेखि कर्णालीसम्म पाइन्छ । यी देवल कुनै प्रकारको काठ, फलाम, बालुवा गिट्टी प्रयोग नगरी विशेष प्रकारको ढुङ्गा काटेर (कटुवा ढुङ्गा) निर्माण गरिएका छन् । 

निङ्लासैनीमा लावड जातिको राँगा पहिलो 

दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा निङ्लासैनी भगवती अवस्थित छ । किंवदन्ती अनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङ्लासैनी नाम रहेको किंवदन्ती छ । यही कारण अष्टमीका दिन बलि दिने राँगामध्ये सबैभन्दा पहिले लावड जातिको राँगा बाँध्ने चलन कायम छ । यो मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । मन्दिरमा बैतडीलगायत दार्चुला, डडेलधुरा, बझाङ, भारतको पिथौरागढलगायतका क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् । 

मेलौलीमा काम्छन् सयौँ धामी 

मेलौली भगवतीको मन्दिर पनि उत्तिकै प्रसिद्ध मानिन्छ । पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको मन्दिरसम्म पुग्न सहज भएपछि भक्तजनलाई सजिलो भएको छ । यहाँ नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजागाजासहित श्वेत फेटा र बागो लगाई सुनचाँदीका गहनामा सुशोभित हातमा चमर लिएर मेलौली र उदयदेवका धामीले सयौँ व्यक्तिले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् । 

कफलासैनी सुर्नया तरे हुँदैन बलि 

कफलासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिका–५, रौलेश्वरमा छ । यी भवानीलाई माडौँ पनि भनिन्छ । सुर्नया नदीको किनारमा रहेको मन्दिरमा बलि दिन ल्याइएका राँगा भागेर सुर्नयापारि गयो भने समातेर पुनः बलि दिन उपयुक्त मानिदैन । सुर्नयापारि बैतडीको प्रसिद्ध सिगासधाम भएकाले नदीपारि पुगेको राँगालाई ल्याएर पुनः बलि दिन हुन्न भन्ने धार्मिक मान्यता छ । 

कपडाको पोकोमा प्राप्त पोटलासैनी 

पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोकोभित्र प्राप्त भएकाले पोटलासैनी नाम रहन गएको मानिन्छ । पोटलासैनी भगवतीलाई पञ्चेश्वर गाउँपालिकास्थित रोडीगाउँका भण्डारी जातिले कुलदेवीका रूपमा पूजा गर्ने गरेका छन् । 

पूजा नहुने भगवती बिजासैनी 

बिजासैनीको कहिल्यै पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रूपमा रहेकी छन् । बिजासैनीको पूजा नहुने भएकाले बैतडीमा कहीँ कतै पनि बिजासैनीको मन्दिर निर्माण भएको छैन् ।