• २८ असोज २०८१, सोमबार

नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते

blog

सिराज खान 

नेपालगन्ज, असोज २८ गते । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–८ स्थित नेपाल भारत सिमानामा आइतबार राति भएको गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन् ।

राति करिब ७ बजे खेतमा काम गरि रहेको समयमा गुलरिया-८ आशापुरका बलराम लोध माथि गोली प्रहार भएको जानकारी आएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।

लोधलाई गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे । उहाँको उपचार त्यहाँ सम्भव नभएपछि बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल पुरयाईएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

प्रहरीका अनुसार गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भई रहेको छ । तर, घाइते लोधले भने भारतीय वनकर्मीले उहाँमाथि गोली चलाएको बयान दिनुभएको छ । उहाँको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । 

सो घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले गोली कसले र किन चलायो भन्ने बारेमा अहिलेनै यकिनका साथ केही भन्न नसकिने प्रहरीको भनाइ छ ।