• २८ असोज २०८१, सोमबार

गुल्मीलाई ८० हजार सुन्तलाको बिरुवा आवश्यक

blog

मदाने गाउँपालिका ७, भनभने टिमुरखर्कमा स्थापना गरिएको सुन्तलाको स्रोत केन्द्र । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असोज २८ गते । गुल्मीमा प्रत्येक वर्ष ८० हजार सुन्तलाको बिरुवा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य विभिन्न संघ संस्थाबाट सञ्चालित कार्यक्रमका लागि ८० हजार बिरुवा आवश्यकता पर्ने देखिएको हो ।

हाल जिल्लामा करिब २० हजार मात्र बिरुवा उत्पादन गर्न सकिएको हुँदा बाँकी अन्य जिल्लाबाट भित्रिने गरेको छ । विभिन्न खालका गुणस्तरहीन बिरुवा जिल्लामा भित्रिदा सुन्तलाका बिरुवामा लाग्ने रोगका कारण सुन्तलाका बगैंचाहरु लोप हुने अवस्था सिर्जना भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । 

सबैको प्रयासबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न सकेमा स्थापना भएका बगैंचा पनि गुणस्तर हुनुका साथै किसानको अतिरिक्त आम्दानीमा समेत वृद्धि हुनेछ । गुणस्तरीय बिरुवा लगाउनका लागि सचेत बनाउन जरुरी छ । स्रोत नखुलेका सुन्तलाका कुनै पनि बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।

सुन्तला बाली गुल्मीको महत्त्वपूर्ण बाली भएको हुँदा यहाँका स्थानीय तहले अभियानका रुपमा सुन्तलाका बिरुवा लगाइएको छ । रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका लगायतका विभिन्न स्थानमा अभियानकै रुपमा सुन्तलाका बिरुवा लगाइएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

अभियानकै रुपमा सुन्तलाका बिरुवा लगाउँदा बिरुवाको संरक्षण गर्न सकिएमा भविष्यमा किसानको आयआर्जनमा समेत वृद्धि हुने विश्वास गरिएको छ । यस जिल्लामा गत आर्थिक वर्षमा १२ करोड ८४ लाख रुपियाँको सुन्तला निर्यात गरिएको थियो । १० वर्षपछि यहाँ एक अर्ब रुपियाँ बराबरको सुन्तला निर्यात गर्न सकिने लक्ष राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।