• २८ असोज २०८१, सोमबार

दसैँमा तीन घरभित्र चोरी

blog

अविनाश चौधरी

धनगढी, असोज २८ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन घरमा चोरी भएको छ । चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्टनजिक घर रहेको कल्ना विक, शिवलाल अर्याल र धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलका दीपेन्द्रबहादुर कुँवरको घरबाट सुनसहित नगद चोरी भएको प्रहरीको भनाइ छ ।  

विक टीका लगाउन कञ्चनपुरको झलारीस्थित माइतीघर गएको बेला घरको मुल ढोकाको ताल्चा तोडेर चोरले सुन चोरेको जनाइएको छ । आफू माइत गएको बेला घरबाट तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहाेराले जानकारी दिनुभयो । 

यसैगरी, सोही वडाकै अर्याल असोज २६ गते दसैं मनाउन कञ्चनपुरको पुनर्वास गएको बेला घरमा चोरी भएको छ । अर्यालले घरमा चोरी भएको बारे हिजोमात्र प्रहरीलाई जानकारी गराएको बोहाेराले बताउनुभयो । 

प्रहरीका अनुसार चोरले दराज फुटाएर अर्यालयको घरबाट ७० हजार रुपियाँ चोरेर लगेको छ । यस्तै, कुँवरको घरबाट २१ हजार रुपियाँ चोरी भएको छ । तीनवटै चोरीका घटनाबारे हिजोमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको प्रवक्ता बोहाेराले बताउनुभयो ।