• २८ असोज २०८१, सोमबार

चार लाखले गरे कालिका मन्दिरको दर्शन

blog

मन्दिर दर्शन र पूजाका लागि आएका भक्तजनहरु । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, असोज २८ गते । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैंको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । 

घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनहरु पूजा आराधना, दर्शन र भ्रमणका लागि आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । 

दसैंको सप्तमी र महानवमीका दिन मात्रै करिब दुईलाख भक्तजनहरुले भगवती मन्दिरको दर्शन गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘सप्तमी र नवमीका दिनमात्र दुईलाख भक्तजनहरुले मन्दिमा पूजाआजा र दर्शन गरेको हामीले अनुमान गरेका छौं । नवरात्रको अन्य दिनहरुमा पनि भक्तजनहरुको भीड भएकाले यसपाली चारलाख भक्तजनले मन्दिरको दर्शन गरेको हाम्रो अनुमान हो ।’’ 

गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि भक्तजनको संख्यामा वृद्धि भएको हो । 

मन्दिरमा बलि दिने परम्परा विस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीनसय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा हुँदै आएको छ । पछिल्लो समय मन्दिर परिसरमा निर्माण भएका भौतिक पूर्वाधार र प्रचार प्रसारका कारण भक्तजनहरुको संख्या बढ्दै गएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।