• २८ असोज २०८१, सोमबार

राप्ती नदीमा दुर्गा भवानीका सयौं मूर्ति विसर्जन

blog

कम्दीस्थित राप्ती नदीको सिधनियाघाटमा मूर्ति विसर्जन गरिंदै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २८ गते । विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थामा स्थापना गरिएका दुर्गा भवानीका सयौं मूर्तिहरु बाँके कम्दीस्थित राप्ती नदीमा विसर्जन गरिएको छ । 

नेपालगन्जका विभिन्न स्थानबाट उठाइएका दुर्गाका मूर्तिसहितका जुलुसहरुले बाजागाजासहित विभिन्न नारा लगाउँदै राप्ती नदीमा पुगेर आइतवार साँझ विसर्जन गरिका हुन् ।  

नेपालगन्ज उपमहानगर र सो वरिपरिका क्षेत्रमा राखिएका करिब ३०० बढी मूर्तिलाई जुलुससहित नदीमा लगेर विसर्जन गरिएको छ । ती मूर्तिहरुलाई नदीमा बगाएर विसर्जन गरिएको हो ।  

त्यसअघि नेपालगन्जका विभिन्न स्थानबाट उठाइएका दुर्गाका मूर्तिसहितका जुलुसहरुले बाजागाजासहित विभिन्न नारा लगाउँदै नगरका विभिन्न ठाउँमा परिक्रमा गरेर राप्ती नदी पुगेका थिए । 

ट्रक, ट्रालीलगायत विभिन्न सवारी साधनमा मूर्ति राखेर प्रसाद वितरण गर्दै मूर्तिलाई राप्ती लगिएको हिन्दु समुदायका अगुवा नन्दलाल वैश्यले बताउनुभयो । उहाँले बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी र मान खोलामा लगेर सेलाइएको बताउनुभयो । जुलुसमा जयश्रीराम शक्तिदलका युवाहरुले लाठी प्रदर्शन गरेका थिए । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैंको भोलिपल्ट सेलाइने परम्परा रहेको छ । दुर्गा मूर्तिमा विशेषगरी नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगन्ज र राप्ती नदी छेउमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।