• २८ असोज २०८१, सोमबार

झाँगाझोलीमा पर्यटकीय चहलपहल बढ्यो

blog

शुक्लाण्डकी–६ मा रहेको झाँगाझोली रिसोर्ट । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २८ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –६ स्थित झाँगाझोलीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको भीड लाग्न थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

यहाँ रिसोर्ट सञ्चालनमा ल्याएसँगै चहलपहल बढ्न थालेको स्थानीयको भनाइ छ । नेपालीहरुको महान पर्व बडादसैंसँगै दैनिक आन्तरिक पर्यटकको भीड लागेको बताइएको छ । यो क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भएको छ  ।

धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीनखोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु यस झाँगाझोलीमा आउने गरेका छन् । दसैं पर्वमा सुरु भएसँगै कर्मचारी, विद्यार्थीले लामो छुट्टी पाउने भएकाले हाल चहलपहलमा बृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शङ्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकन गर्न बढी भीड लाग्छ । अधिकारीले भन्नुभयो, ‘दसैंका कारण विद्यालय बिदा भएसँगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ ।’ 

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन जना सञ्चालकले करिब २ करोड रुपियाँ लगानी गरेका छन् । झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत सञ्चालनमा ल्याएको अधिकारीले बताउनुभयो । 

आन्तरिक तथा बाह्य गरी दैनिक तीनसय जना पर्यटक घुम्नको लागि आउने गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकलाई थप आकर्षित गर्न जडीबुटी तथा नमुना पाङ्गरिक तरकारी खेती समेत सुरु गरिएको छ । करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ । 

एकीकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्त स्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ । झाँगाझोलीमा एसीसहितको अत्याधुनिक व्यवस्थासहितका दशवटा कोठा छन् ।