• २८ असोज २०८१, सोमबार

'मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिन'

blog

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कार्यक्रममा ।

गोरखापत्र अनलाइन

बैतडी, असोज २८ गते । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ। बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पूरा गर्नेगरी काम गरिरहेको उहाँले बताउनुभयो। उहाँले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो। जनताको आग्रहमा आएका  योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ कि छैन भनेर परीक्षण गरेर मात्र कार्यान्वयन गरिने उहाँले बताउनुभयो । 

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट ल्याएको उहाँको गुनासो छ । ‘विगतको सरकारमा म पनि सहभागी थिएँ, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुनेगरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए’  उहाँले भन्नुभयो । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने उहाँले प्रष्ट पार्नुभयो । 

‘परिणाममुखी योजना ल्याउनुपर्छ’

उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभएको छ। स्थानीयतहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिनेखालले बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्नेमा मन्त्रीको जोड छ । ‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनै पनि योजनाले परिणाम दिनैपर्ने हुन्छ, उहाँले भन्नुभयो ।