• २८ असोज २०८१, सोमबार

दुर्घटना घटाउन निःशुल्क खाजासहितको विश्रामस्थल

blog

मन्थली (रामेछाप), असोज २८ गते । दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना घटाउन जिल्लाको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाउँपालिका- ६ माकादुमले यो अभ्यास सुरु गरेका हुन् । 

असोज ११ र १२ गतेको अविरल वर्षापछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “लामो दूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्र यहाँ दुई तीन वटा दुर्घटना भइसकेका छन् । तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।” 

उहाँका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउ लगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताउनुभयो ।      

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनीघाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुनेगरेका छन् । 

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताउनुभयो । रासस