• २८ असोज २०८१, सोमबार

एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २८ गते ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुरिपयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार एनसीसी मलेसियाका महासचिव टीकाराम अधिकारीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फुटबलले ठुलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैँ सम्झिने बताउनुभयो ।

एनसीसी मलेसियाका महासचिव अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपियाँ दिने निर्णयअनुसार एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको बताउनुभयो । एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीहरुको स्मृतिमा अक्षयकोष खडा भएको र उक्त रकम त्यसमा जम्मा गर्ने प्रतिवद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोदकुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिीति रहेको थियो । मकवानपुरको सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको ज्यान गएको थियो । इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । 

उक्त घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो।