• १० मंसिर २०८१, सोमबार

फेवा किनारमा थरी थरी पिङ

blog

तस्बिरः फडिन्द्र अधिकारी/गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २७ गते। लामो सार्वजनिक बिदा हुने दसैँ, तिहार पछिल्लो समय घुमफिरका अवसरसमेत बन्दै गएका छन्। पर्यटन राजधानी पोखराको फेवाताल किनारमा अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल छ। अरू बेला आधुनिक स्विङ (पिङ)मा रमाउने पर्यटकहरू अहिले किसिम किसिमका परम्परागत पिङमा मच्चिँदै छन्।

दसैँको अवसरमा फेवातालको वाराही घाटमा तीन थरीका पिङ हालिएको छ। स्थानीयले विजयादशमी पिङ निर्माण समिति बनाएर परम्परागत पिङहरू एकै ठाउँमा बनाएका हुन्। वाराही घाटको नेपाल ट्रष्टको जग्गामा अहिले लिङ्गे, रोटे(चम्रेली) र रिङ्गे पिङमा स्थानीय र पर्यटकको भीड लागिरहेको छ। 

असोज २२ गते पिङ तयार भएको थियो। त्यही दिनदेखि नै बिहानदेखि बेलुकासम्म पिङमा रमाउनेहरूको भीड लाग्ने गरेको समितिका संयोजक बुद्धि नेपाली बताउनुहुन्छ। दुई वटा लिङ्गे पिङ, एक÷एक वटा चम्रेली र रिङ्गे पिङ खेल्न पालो पर्खिनुपर्ने अवस्था छ। 


यसो त फेवातालको डेमसाइडदेखि पामेसम्म ठाउँ ठाउँमा लिङ्गे पिङहरु बनाइएका छन्। निर्माण समिति सदस्य अनिल थापा दसैंको संस्कार, ऐतिहासिक पक्ष जानकारी दिनुका साथै मौलिकपना महसुस गराउन यसरी थरीथरीका पिङको मज्जा एकै ठाउँमा खेल्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ। 

“हामीले दसैको परम्परा, हाम्रा परम्परागत पिङहरुबारे जानकारी दिन पिङ हालेका हौँ। यहाँ दिनभर कोही खेल्न, कोही फोटो र भिडियो बनाउन व्यस्त हुने गरेका छन्,”थापाले भन्नुभयो। चार वटा पिङ बनाउन समितिले एक लाख ५० हजार खर्चेको छ।