• १३ पुस २०८१, शनिबार

पाँच सय वर्षे खड्ग जात्रा सञ्चालनमै समस्या

blog

भीमेश्वर मन्दिरमा पुगेर देखाइएको खड्ग जात्राको झलक। तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असोज २७ गते। आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका-२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्ग जात्रा थेग्न समस्या हुँदै आएको छ।  

देशमा गणतन्त्र स्थापना भएपश्चात् गुठियारले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो।  

दोलखाली राजा इन्द्रदेव सिंहको कान्छो छोराको सन्तान भएको दाबी गर्नेवाला भन्छन्, ‘पुर्खाको वि.सं १५९० मा मृत्यु भएपछिदेखि यो जात्रा गुठियारकै कुतबाट चल्दै आएको थियो। कुत आउन छाडेपछि केही दिन व्यक्तिगत पैसा उठाएर जात्रा चल्यो। अहिले भीमेश्वरमा चढाएको बलि तथा पूजाको पैसाले मुस्किलले चलेको छ।’ समितिबाट सहयोग नहुने हो भने कुनै दिन परम्परा तोडिन सक्ने आशङ्का रहेको छ।

दोलखा मात्र नभएर देशकै परम्परा थेगिराखेको यो जात्रा सञ्चालन गरिरहन हामीलाई हम्मेहम्मे परिरहेको छ। दायित्व वहन नगरी सरकारबाट बेवास्ता हुँदा यो जात्रा थेग्न गारो भएको समिति पूर्व अध्यक्ष जीवन श्रेष्ठले दुखेसो पोख्नुभयो।

परम्परागत सांस्कृतिक परम्परानुसार विजया दशमीको भोलिपल्ट (एकादशीका दिन) बिहानदेखि बेलुकासम्म यो जात्रा मनाइन्छ। 

किम्बदन्ती अनुसार दानवहरूले देवीदेवता एवम् मानिसलाई विभिन्नखाले दुःख कष्ट दिन थालेपछि दानवराज महिषासुरको कसरी वध गर्ने भन्ने विषयमा देवताको बैठकपछि दानवमाथि युद्ध गर्ने निर्णयमा पुगी सोही मुताबिक साइत जुराई युद्धको आरम्भ भएको हो।

भीमेश्वरस्थान, त्रिपुरासुन्दरीमा बलि दिइएको राँगाको टाउको यहाँ राखिन्छ र त्यो टाउकोलाई राजकुलेश्वर भगवती र बटुकभैरवले खड्ग प्रहार गरी शिर छेदन गर्दछन्। 

यसपछि सगुनबाजा बजाउँदै खुसी मनाउने चलन छ। बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीहरूले मन्दिरअगाडि बसेर टीका लगाई दिने प्रचलन अझै पनि रहेको  स्थानीय तीर्थनारायण जोशी बताउनु हुन्छ। 

स्थानीय जोशी करिब पाँच सय वर्ष अघिको मल्लकालीन जस्तो, किराँतकालीन जस्तो पनि लाग्ने यो जात्रा पौराणिक जात्रामध्येको जेठो भएकाले यसको संरक्षणमा सरकारले पनि चासो राख्नुपर्ने  बताउनुहुन्छ।