• १३ पुस २०८१, शनिबार

काभ्रेपलान्चोकको सात वटा मोटरेबल पुलमा पूर्ण क्षति

blog

नमोबुद्ध नगरपालिका-६ स्थित रोशीखोलामा रहेको मोटरेवल सस्पेन्शन पुल बाढी आउनुअघि र बाढी आएपछि ।

केदार तिमल्सिना

बनेपा, असोज २७ गते । अविरल वर्षासँगै आएको बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लामा रहेका ४८ वटा मोटरेवल पुलमा क्षति पुगेको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले गत साता जिल्लामा विभिन्न स्थानमा आएको बाढीका कारण सात वटा पुल पूर्ण रूपमा क्षति भएको जनाएको छ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बाढीबाट काभ्रेपलाञ्चोकमा रहेका ४८ वटा मोटरेवल पुलमा क्षति पुगे पनि सात वटा पुल पूर्ण रूपमा क्षति भएको बताउनुभयो । उहाँले पूर्ण क्षति भएका पुलहरूमध्ये तीन वटा पुल पुरै बगाएको, चार वटा पुलको आधा भागमा क्षति भएको बताउनुभयो । 

उहाँले बाढीबाट नमोबुद्ध नगरपालिका ६ स्थित रोशीखोला मोटरेवल सस्पेन्शन पुल कटुन्जे (प्रयोगमा नआउने र पुल बगाएको), पनौती नगरपालिका ४ स्थित पनौती बाँस्डोल पुल (प्रयोगमा नआउने र पुल बगाएको), पनौती नगरपालिका १२ जोरघट्टस्थित रोशी खोला पुल पूर्ण रूपमा क्षति भएको छ । यसैगरी बाढीले पनौती नगरपालिका १० खोपासी पावर हाउसस्थित सलान्दु खोला पुल, पनौती नगरपालिका १२ स्थित रोशी खोला पुल, मल्ती कोलाँती जाने रोशी खोला पुलमा थप क्षति, पुल हल्लिएर यातायात चालु हुन नसक्ने अवस्थामा रहेकाले यी पुल पनि पूर्ण क्षतिमा समावेश भएको सिडिई श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी सिडिई श्रेष्ठले बाढीका कारण पनौती नगरपालिका ४ स्थित पनौती बाँस्डोल पुल (बनेपा सिमाना) रोशी गाउँपालिका ३ स्थित रोशी खोला पुल फलामेसाँघु, तेमाल गाउँपालिका ८ स्थित सुनकोशी नदी पुल खोलाले दिशा परिवर्तन गरी पुलको विङ्ग वाल, टेवा पर्खाल, एप्रोच, रिभर ट्रेनिङ समेत बगाएको साथै मर्मत सम्भारपछि यातायात सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । 

उहाँले बाढीपहिरोका कारण ३८ वटा पुलमा सामान्य क्षति भएको बताउँदै उक्त पुलहरूमा अहिले यातायात सञ्चालन भइरहे पनि उक्त पुलहरूलाई मर्मत सम्भार गर्न आवश्यक रहेको बताउनुभयो । बाढीबाट पूर्ण र आंशिक रूपमा क्षति भएका पुलहरू साबिकको जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण भएका पुराना पुलह रु हुन् भने सुनकोशी नदी पुल डोलिडारको सहयोगमा निर्माण भएको पुल हो । 

बाढीपहिरोको क्षतिपछि गठन गरिएको पूर्वाधार क्लष्टरका संयोजक समेत रहनुभएका सिडिई श्रेष्ठले बाढीपहिरोबाट जिल्लामा अन्य पुलह रु पनि क्षति पुगेको हुन सक्ने भएकोले तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताउनुभयो । उहाँले बाढीका कारण रोशी गाउँपालिकाको फलामे साँघुमा रहेको एउटा झोलुङ्गे पुलमा समेत क्षति भएको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण जिल्लाभर थुप्रै नाली, सडक पर्खालहरूसमेत क्षति भएको बताउनुभयो ।