• २८ असोज २०८१, सोमबार

मार्फामा ४० वर्षपछि तापक्रम अस्वाभाविक परिवर्तन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज २७ गते । हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वाभाविक परिवर्तन भएको पाइएको छ । 

गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो समयमा पनि अस्वाभाविक रूपमा माइनस १० सम्म पुगेको तथ्याङ्कले देखाएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सन् १९८५ देखि तापक्रम मापनको आधिकारिक तथ्याङ्क भेटिएपछिको अवस्था हेर्दा अस्वाभाविक परिवर्तन देखिएको हो । 

केन्द्रले मापन गर्ने तापक्रम र उसले राखेको तथ्यलाई केलाउँदा केही हदसम्म भए पनि तापक्रम बढेको मात्र नभएर अस्वाभाविक पनि मान्न सकिने जनाइएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार हालसम्मको अवस्था हेर्दा केन्द्रमा गर्मीको समयमा तापक्रम अलिकति भए पनि बढेको र जाडोमा पनि अस्वाभाविक तवरले घटेको पनि देखिएको छ । 

गर्मी समयमा तापक्रम अलि बढी र जाडोमा पनि जाडो बढेकैजस्तो पाइने गरेको उहाँको भनाइ छ । मार्फामा मापन गरिएको तापक्रमको तथ्य हेर्दा सन् २००८ को जनावरी ३१ मा तापक्रम सबैभन्दा कम अर्थात् माइनस ९ दशमलव ५ डिग्री सेन्टीग्रेट मापन भएको थियो ।

त्यस्तै सन् २००७ को जनावरी ३ मा माइनस ९ मापन भएको थियो । सन् २००१ अप्रिल १९ मा मार्फामा त्यो समयसम्मको अधिक तापक्रम मापन भएको थियो । उक्त समयमा मार्फाको तापक्रम २६ डिग्री सेन्टीग्रेट मापन भएको थियो । 

त्यस्तै सन् २०१६ मे २३ मा २८ दशमलव ५, सन २०१८ जुन ४ मा २७ डिग्री मापन गरिएको तापक्रम सन् २०२० को जुन २९ मा २९ डिग्री मापन भएको आत्रेयको भनाइ छ । सन् २०१४ को जुन ११ मा २९ डिग्री तथा सन् २०१५ को जुलाई २९ र अगस्ट ११ मा ३० डिग्रीसम्म तापक्रम मापन भएको शीतोष्ण बागवानी विकास केन्द्रले जनाएको छ ।

मौसम बढ्यो घट्योभन्दा पनि तापक्रममा भएको अस्वाभाविक परिवर्तनले गर्दा सबैलाई असर गर्न सक्ने आत्रेयको भनाइ छ । तापक्रम पछिल्लो दुई वर्षमा पनि २९ डिग्रीसम्म पुगेको देखिन्छ । गर्मी समयमा ३० डिग्रीसम्म र जाडोमा अस्वाभाविक जस्तैगरी करिब माइनस १० सम्म पुगेको अवस्थाले गर्दा जनावर, मानिस तथा बोटबिरुवालाई पनि असर पर्ने उहाँको भनाइ छ । 

चिसो ठाउँको तापक्रम करिब एक प्रकारको हुने तर जलवायु परिवर्तनले गर्दा अस्वाभाविक तवरको अत्यधिक र न्यूनतम तापक्रममा पुग्दा त्यसलाई ग्रहण गर्न पक्कै पनि कठिनाइ हुन्छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयको भनाइ छ ।

जलवायु परिवर्तनको कारणले गर्दा मुस्ताङको तल्लो क्षेत्रमा स्याउको उत्पादनमा कमी हुन थालेको छ । २० वर्षभन्दा पहिलासम्म स्याउको राम्रो उत्पादन हुने कोबाङ क्षेत्रमा अहिले विगतजस्तो स्याउको उत्पादन नहुने थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनले बताउनुभयो । 

सन् २००० सम्म बेमौसमी पानी नपर्ने भए पनि पछिल्लो समय चैत वैशाखमा पानी पर्ने तथा हिउँदमा हिउँ नपर्ने समस्याले पनि स्याउको उत्पादन कम भएको उहाँको भनाइ छ । हिउँदमा हिउँ परेको खण्डमा चिलिङ आवर पुग्ने र चैत वैशाखमा पानी नपर्ने हो भने मात्रै माहुरी तथा भवराहरुले परागसेसन गराएको खण्डमा स्याउ उत्पादन राम्रो हुन्छ । परागसेसनको समयमै पछिल्लो वर्षमा पानी परिदिँदा स्याउ उत्पादन तथा अन्य फलफूल तथा तरकारी बालीमा समेत असर गरेको शेरचनको भनाइ छ ।