• २६ असोज २०८१, शनिबार

बजाउने व्यक्तिहरु नहुँदा बिक्न छाडे सारंगी

blog

सारंगी बनाउँदै डाइभर गन्धर्व । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, असोज २६ गते । कुनै समय गाउँका अधिकांश गन्धर्व समुदायले सारंगी बजाउथे । त्यही सारंगीको भरमा विभिन्न गाउँ गाउँमा पुगेर गीत गाउँथे र परिवारको जीविका चलाउँथे । अहिले त्यो समय हराउँदै गएको छ । गाउँहरूमा सारंगी बजाउने र गीत गाउने गन्धर्वहरू घट्दैगएका छन् ।

नयाँ पुस्तामा सारंगी बाजाप्रति खासै रुचि देखिदैँन । केही युुवाहरुले चासो दिने र बजाउने गरे पनि ती युवाहरु काठमाडौं जाने र दोहोरी साँझहरूमा सारंगी बजाउँदै जीविका चलाउने गर्दैआएका छन् । गाउँमा सारंगी बाजा बजाउने मानिस नहुँदा बनाएका सारंगी बिक्री गर्ने समस्या भइरहेको घोराही उपमहानगरपालिका ११, नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउनुहुन्छ । 

करिव तीन दशक बढी समयदेखि सारंगी बाजा बनाउँदै आउनुभएका डाइवर पछिल्लो समय आफ्नो पेसा संकटमा परेको बताउनुहुन्छ । सारंगी बजाउने मानिस कम हुँदै जाँदा बिक्री समेत हुन छोडेको भन्दै उहाँले भन्नुभयो, ‘पहिले सारंगी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारंगी बिक्नै छोडिसकेको छ । बनाउने काम मात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ ।’ 

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारंगी बजाउन छोड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिलेजस्तै सवैले गीत गाउने र सारंगी बनाउने गरे त राम्रै हुन्थ्यो होला, तर अहिले गाउँमा सारंगी बजाउन जान्ने सीमित मानिसहरु मात्र रहेका छन् । 

गाउँमा सारंगी बजाउने मानिस नहुँदा बिक्री समेत हुन छोडेको भन्दै उहाँले भन्नुभयो, ‘गाउँमा सारंगी बजाउने कोही भए पो बनाएका सारंगी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन ।’ पहिले महिनामा ७-८ वटा सारंगी बिक्री हुने गरेपनि अहिले २-३ जति मात्र बिक्री हुनेगरेको बताउनुहुन्छ ।  

कला र काठ अभाव

सारंगी बनाउने कला मात्रै संकटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ । सारंगी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उहाँ बताउनुहुन्छ ।

जिल्लामै सारंगी बनाउने आफु मात्र भएको भन्दै उहाँले भन्नुभयो, ‘आफ्नो मौलिक बाजा बनाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारंगी बनाउन काठ मात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।’

सामुदायिक वनहरूको कारणले जंगलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारंगी बनाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार सानो साइजका सारंगीहरू चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् । ठुला र आकर्षक डिजाइनका सारंगीहरू नौ हजारदेखि दश हजारसम्मको मुल्यमा बिक्री हुने गरेको डाइवर बताउनुहुन्छ । 

पछिल्लो समय केही गन्धर्व समुदायसँगै विद्यालय, संगीत प्रशिक्षण केन्द्रसँगै नेपाली मौलिक बाजालाई माया गर्नेहरूले किन्ने गरेको छन् । गन्धर्व समुदायको पहिचानसँग जोडिएको बाजा संरक्षणका लागि ध्यान नदिने हो भने कुनै पेसा र संस्कृति हराउने खतरा रहेको सोही ठाउँ निवासी पूणर्बहादुर गन्धर्व बताउँनुहुन्छ ।

विगत चार दशकदेखि आफुले सारंगी बजाउँदै आए पनि नयाँ पुस्ताको यो पेसाप्रति  रुचि नभएको बताउनुहुन्छ । सारंगी बजाएरभन्दा विदेशतिर गएर राम्रो कमाउन सकिने भएकाले धेरैले यो पेसा छोड्दै कमाउन बाहिर जाने गरेको उहाँ बताउनुहुन्छ ।