• २६ असोज २०८१, शनिबार

राँगा मार हान्न ४ लाख ७१ हजारको बोलकबोल

blog

कालरात्रिका दिन मार हान्ने राँगोको बढीबढाउमा राखुभगती कोत मन्दिरमा भेला भएका सर्वसाधरण । तस्बिर : कुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा खुल्ला प्रतिस्पर्धाबाट राँगो मार हान्ने अनौठो प्रचलन छ । मार हान्ने व्यक्तिको छनौँट यहाँ सार्वजनिक रुपमा बोलकबोलबाट गरिन्छ । 

एउटा राँगो मार हान्न यहाँ लाखौं रकमको प्रतिस्पर्धा हुन्छ । बिहीबार कालारात्रिका दिन राति ११ बजे भगवती मन्दिर परिसरमा भेला भएर बढीबढाउ मार्फत राँगो मार हान्ने व्यक्तिको छनौंट गरिएको छ । 

आज बिजया दशमीको महानवमीका दिनमा बली चढाइने सरकारी राँगो मार हान्न (काट्न) यसपालि चार लाख ७१ हजार रुपियाँ बोलकबोल भएको वडा नम्बर २ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । यो गत वर्षभन्दा एकलाख ४१  हजार रुपियाँ बढी भएको उहाँले बताउनुभयो । 

रघुगंगा गाउँपालिका वडा नम्बर ३ अक्षेताका सोवित भण्डारीका नाममा उक्त रकम स्थानीय लक्ष्मण भण्डारीले बोलकबोल गर्नुभएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष एकेन्द्र भण्डारीले तीन लाख ३० हजार रुपियाँ बोलकबोल गरेर राँगो मार हान्नुभएको थियो । 

४५ मिनेटको निर्धारित समयमा भण्डारी र भगवती कटुवाल चोकका रमेश केसीबिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा मार हान्ने व्यक्ति टुंगो नलागेपछि थपिएको ३ मिनेटको समयअवधिमा दुबैजनालाई बोलकबोल रकम लिखित रुपमा समितिमा बुझाउन भनिएको थियो । 

मन्दिर व्यवस्थापन समितिले थपेको ३ मिनेटको समयमा भण्डारीले चार लाख ७१ हजार र केसीले चारलाख ५० हजार रुपियाँ लिखित रुपमा बोलकबोल गर्नुभएको थियो । कालरात्रिमा खुला बढीबढाउ गरी  राँगो मार हान्ने व्यक्तिको छिनोफानो गर्ने प्रचलन रहेको भगवती कोतपूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकाँंक्षा पूरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको पूजा व्यवस्थापन समितिका अध्यक्ष  मल्लले जानकारी दिनुभयो ।

भण्डारीले बिहीबार कबोल गरेको रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । अघिल्लो वर्ष तीनलाख ३० हजार, २०७९ सालमा ३ लाख १५ हजार, २०७८ सालमा ३ लाख, २०७६ सालमा २ लाख ८० हजार रुपियाँको बोलकबोल भएको थियो । 

कोत मन्दिरमा नवमीका दिन सरकारी मार हानेपछी पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित गाउँ घुमाउँदै सम्मान गर्ने प्रचलन रहेको छ । 

यो क्षेत्रकै एतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । आफुले चाहेको पूरा गराउन यहाँ मार हान्नका लागि भाकल गर्ने गरिन्छ । आँटेको र चाहेको पूरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मल्लले बताउनुभयो । 

बाइसे चौबीसे राज्यका पालामा १७ औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुरानो र ऐतिहासिक कोतको सूचीमा पर्दछ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन अझै जीवित छ ।