• १२ पुस २०८१, शुक्रबार

चाडपर्व, सवारी हैरानी र दुर्घटना

blog

आममान्यता अनुसार कुनै सवारीसाधनले अर्को वा सडकमा रहेका अन्य सजीव वा निर्जीव वस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति हुने, घाइते हुने र मृत्यु हुने तीन वटा अवस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ ।

नेपाली बृहत् शब्दकोश अनुसार ‘कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना अर्थात् अपर्झट आइपरेको कष्टपूर्ण अशुभ घटना दुर्घटना हो । काबुबाहिरको घटना कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो ।’ दुर्घटना आकस्मिक भवितव्य हो । सवारी दुर्घटना हुनका अनेक कारण छन् । सडक सवारी दुर्घटना मानवीय कारण, यान्त्रिक कारण, वातावरणीय कारण, सडकको कारणलगायतले हुने गरेको छ । हाम्रो जस्तो भौगोलिक विकटता भएको, फरक फरक भौगोलिक अवस्थिति भएको मुलुकमा दुर्घटना अन्यत्रभन्दा बढी हुने गरेको पाइन्छ । सडक अनुशासन पालनामा चालक र यात्रुको लापर्बाही पनि दुर्घटना बढ्नुको अर्को समस्या देखिन्छ ।

आज दसैँको आठौँ दिन । दसैँलगत्तै तिहार र छठजस्ता थप महìवपूर्ण चाड पनि व्रmमशः आइहाल्छन् । कुनै पनि चाडपर्व जो कसैका लागि पनि रमाइला र स्मरणीय हुन्छन् । आआफ्नो गच्छे अनुसार हरेक पर्व सबैले खुसीसाथ मनाउने वातावरण सिर्जना गर्नु हामी सबै र सरकारको कर्तव्य हो । खुशीसँग रम्ने र रमाउने वातावरण दिनु राज्यको धर्म हो ।

एकै पटक धेरै सवारीसाधनको प्रयोग, धेरै बाटो चल्ती धेरै मान्छेको आवागमनलगायतका कारण चाडपर्वमा हुने दुर्घटना सवारी हैरानीजस्ता कुरामा व्यवसायी र राज्यका निकाय बढी संवेदनशील र चनाखो बसेर तदारुकता देखाउनु आवश्यक हुन्छ । दसैँमा विभिन्न पेसा, व्यवसाय र शिक्षादीक्षाका व्रmममा देश तथा विदेशका विभिन्न भागमा पुगेका नेपाली घर फर्किन्छन् । घर फर्किने व्रmममा उनीहरूले स्थल तथा हवाई यातायातका साधन प्रयोग गर्छन् । हवाई यातायात पनि त्यति धेरै भरपर्दा छैनन्, त्यसको पनि निरन्तर अनुगमन र मूल्याङ्कन गर्नुपर्ने खाँचो देखिएको छ । आजको सन्दर्भ स्थल सार्वजनिक यातायातको रहेको छ । यसर्थ दसैँ हाँसोखुसीका साथ मनाउन सवारीसाधनका चालक, यात्रु र सवारीसम्बद्ध सबैले आआफ्नो स्थानबाट सजग, सचेत र इमानदारीसाथ जनहितलाई ध्यानमा राखेर काम गर्नु पर्छ ।

दसैँलाई भव्य, सभ्य र सुसंस्कृत बनाउन सबैले आआफ्नो आचरण र व्यवहार अनि शैलीमा रूपान्तरण गर्नु जरुरी छ । यसका लागि सबैका तर्फबाट केही सचेतता, होसियारी, विवेक र निष्ठाको प्रयोग आवश्यक देखिन्छ । यात्रुको असहजताको फाइदा उठाएर चर्को भाडा असुल्ने अनैतिकताको नियमन पनि यतिबेलाको जरुरी काम हो । 

सरकारदेखि सामान्य मान्छेसम्मका फरक फरक दायित्व छन्, जसले पर्व उल्लासमय बन्न सहयोग गर्छ । दसैँमा धेरै मान्छे गाउँघर फर्किन्छन् । जसले गर्दा देशभरका सानाठुला सडक या राजमार्गमा सवारी चाप निकै बढ्छ । त्यसैले सवारीसम्बद्ध चालक, सहचालक, बस व्यवसायी, यात्रु, कर्मचारी, सरकार सबैले सुझबुझसाथ आआफ्नो कर्तव्यमा खट्नुपर्ने हुन्छ ।

हाम्रा बाटा मृत्युको धराप थापिएजस्ता कहालीलाग्दा र भिरपाखाका छन् । अधिकांश सडक अव्यवस्थित छन् । अवैज्ञानिक र धरातलीय यथार्थ नबुझी खनिएका सडक सवारीसाधनमा यात्रायोग्य नै छैनन् । त्यसमाथि यातायात व्यवसायीको चर्को सिन्डिकेट छ । चाडपर्व लागेपछि मनलाग्दी भाडा असुलेर आपत् र अप्ठ्यारोमा जति पनि तिर्छन् र तिर्नु पर्छ, चाडपर्वमा पैसा खर्च नगरे कहिले गर्छन् त भने जस्तो व्यवसायीको मानसिकता पनि हुन्छ । जतिसुकै अप्ठ्यारो र चुनौतीपूर्ण, महँगो भए पनि हामीले तिनै सडक र तिनै सवारीसाधनबाटै यात्रा नगरी धरै छैन । 

प्राविधिक रूपमा अडिट नभएका गुणस्तरहीन सडक, लामो रुटमा एक जना मात्र चालकले सवारीसाधन हाँक्नुपर्ने चुनौती छ । अप्ठ्यारो बाटोमा लामो समय रातदिनै एकै सवारीसाधनको प्रयोग, गाडी चलाउँदै मोबाइल चलाउने आदत, मादक पदार्थ र अन्य लागुपदार्थ सेवन, साँघुरा र घुम्तीयुक्त सडक, विशेष ठाउँमा ट्राफिक सङ्केत र सूचनाको अभावले पनि दुर्घटनाको खतरा हुन्छ । बढी पैसा कमाउने लोभमा यात्री तान्ने होडमा अनियन्त्रित गतिमा हाँकिने सवारीसाधन, सवारीसाधनले थेग्नै नसक्ने यात्रुको चाप आदिलाई सवारी दुर्घटना हुने सम्भावित कारण मान्ने गरिन्छ ।

विभिन्न अनुसन्धान र अध्ययनले औँल्याएका र हरेक दिन जसो दोहोरिइरहने यस्ता कमीकमजोरीका कारण हाम्रा चाडपर्व कहिलेकाहीँ निकै खल्लो हुने गरेका छन् । दसैँलगायतका चाडपर्व र चुनावका बेलामा सडक दुर्घटनाको ग्राफ अरू बेलाभन्दा बढी नै उकालिएको देखिन्छ । सवारीसाधनको यात्रामा चालकदेखि यात्रुसम्म सबैमा जहिल्यै संवेदनशीलता चाहिन्छ तर यस्ता विशेष अवसरमा झनै बढी गम्भीरताको खाँचो पर्छ । प्राविधिक रूपमा अडिट नभएका गुणस्तरहीन साँघुरा र घुम्तीयुक्त सडक, लामो रुटमा एक जना मात्र चालकले सवारीसाधन हाँक्नुपर्ने चुनौती, ट्राफिक सङ्केत र सूचनाको कमी, यात्री तान्ने होड, अनियन्त्रित गति, यात्रुको थेग्नै नसक्ने चाप आदि सवारी दुर्घटनाका सम्भावित कारण हुन् ।

चालक पेसा आफैँमा संवेदनशील र धेरै मान्छेको जीवन हत्केलामा बोकेर हिँड्ने गहन जिम्मेवारी बोकेको पेसा हो । सधैँ जोखिम मोलेर मान्छेको ज्यान बोकेर हिँड्ने पेसा आमपेसाभन्दा संवेदनशील नै हुन्छ ।

सबैभन्दा सम्मानित पेसा पनि हो यो । हामी यही पेसालाई हेप्ने गर्छौं । कतिपय यस पेसासँग सम्बद्ध मान्छेले पनि यसको गरिमा गिराएका छन् । सधैँ सम्मानपूर्वक राख्नुपर्ने र मानसिक, शारीरिक, भावनात्मक सबै किसिमले स्वस्थ मान्छेले गर्नुपर्ने पेसा हो यो । हामीकहाँ सबैभन्दा तनावमा कुनै पेसाकर्मी देखिन्छ भने त्यो सवारीचालक नै हुन्छ । 

सवारीचालक सधैँ चनाखो, भद्र र शालीन हुनु पर्छ । चालक जहिल्यै मानसिक र शारीरिक रूपमा स्वस्थ रहनु पर्छ । उसले आफ्नो सवारीसाधन जहिल्यै सही हालतमा राख्न सक्नु पर्छ । चालक धैर्यवान् पनि हुनु पर्छ । यस्ता अनेकन गुण र सामथ्र्यले चालक समृद्ध हुनु पर्छ । चालक सामान्य तर असामान्य क्षमताको हुनु अपरिहार्य छ ।

त्यसका अतिरक्त चालक कुनै पनि लागुपदार्थ तथा मादक पदार्थको दुव्र्यसनबाट टाढै रहन सक्नु पर्छ । धेरै मान्छेको जीवन एकसाथ लिएर हिँडने चालकको धैर्य, संयम र सुझबुझमा सम्भावित दुर्घटना टार्ने ल्याकत हुन्छ । उसको आँखाको ज्योतिसमेत स्पष्ट हुनु पर्छ । विशेषतः सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ को चालक अनुमतिपत्रसम्बन्धी व्यवस्थाको दफा ४७ बमोजिम योग्यता र गुणले युक्त हुनु पर्छ । सवारी चलाउन जानेको छ भन्दैमा सहचालकलाई सवारी चलाउन दिनुहुँदैन । नयाँ ठाउँमा पहिलो पटक गाडी लिएर जाँदा त्यहाँको भूगोल, हावापानी आदि सबै पक्ष जानकारीमा लिनु पर्छ । केही यस्ता ठाउँ पनि हुन्छन्, जहाँ पानी पर्ने, हुस्सु लाग्ने र पहिरो जाने सम्भावना जुनसुकै बेला रहन्छ । मौसमको अनुकूलता र प्रतिकूलताबारे जानकार चालक हुँदा दुर्घटनाबाट हुन सक्ने सम्भावित क्षति रोक्न सकिन्छ । दसैँ धेरैलाई आफ्नो माटो छुने अवसर पनि हो । आफ्नो नाभि गाडिएको माटोको स्पर्शले मातृभूमिप्रतिको प्रेम गाढा गराउँछ । यही प्रेममा द्रविभुत भई दसैँतिहार र छठ जस्ता पर्व पारेर बिदेसिएका नेपाली स्वदेश फर्कने र सहरकेन्द्रित व्यवसाय, अध्ययन गर्ने मानिस गाउँ फर्कने गर्छन् । तसर्थ यस्ता पर्वमा गाउँ जानेको भिड धेरै हुने र यातायातका साधन, यातायात मजदुर र व्यवसायीले धेरै लोड वहन गर्ने समय हो । 

धेरै धपेडी, अनिद्रा, थकाइजस्ता समस्या मजदुरमा देखिन्छन् । अत्यधिक भार बोकेर निरन्तर गुड्दा सवारीसाधनको भारवहन क्षमतामा ह्रास आई उपकरणमा प्राविधिक समस्या आउन सक्ने अवस्था हुन्छ । त्यसैले यस्तो गम्भीर र संवेदनशील घडी र सबैलाई हतार भएका बेलामा यातायातका साधनको चेकजाँचमा ध्यान खासै गएको हुँदैन । सानो त्रुटि र थोरै समयको हतारले मान्छेको ज्यान नै जोखिममा पर्न सक्ने स्थितिको आकलन गरेर सचेत भई सवारीसाधन सञ्चालन गर्नु बुद्धिमानी हुन्छ । 

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा भन्छन्, “सडक दुर्घटनाका मूलतः तीन कारण हुन्छन्, नेपालको जटिल भूभागमा सवारी पु¥याउनुपर्ने बाध्यता; चालक, यात्रु तथा कुनै पनि मानिसको लापर्बाही र डोजर अपरेटरको डिजाइनमा खनिएका गुणस्तरहीन सडक । दक्ष इन्जिनियरको साटो स्थानीय जनप्रतिनिधि र डोजर अपरेटरले डिजाइन गरेको सडकमा वर्कसपका सामान्य प्राविधिकले मर्मत गरेका सवारीसाधनले सडकको ‘ग्रेभिटी’ सन्तुलित गर्न सक्दैनन् र दुर्घटना हुन्छ अनि अनाहकमा नागरिक मारिन्छन् ।  

प्राविधिक र दक्ष मान्छेले औँल्याएको पक्षमा ध्यान दिनु, नियामक निकायले बिनाप्रलोभन नियमन गर्नु र यातायात व्यवसायी र यातायात मजदुरले अनुशासित र नैतिक बन्नु, यात्रुले चालक र सवारी मजदुरलाई भाडालगायत विषयमा अनावश्यक विवादमा नपार्नु पनि दुर्घटना न्यून गर्न सकिने आधार हुन् । सडक दुर्घटना रोक्नका लागि विभिन्न देशले ‘रोड सेफ्टी काउन्सिल’ स्थापना गरेर काम गरेका छन्  । नेपालमा पनि रोड सेफ्टी काउन्सिलको आवश्यकता परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयका अधिकारी र यातायातविज्ञको बुझाइ छ । 

चालकले तीव्र गतिमा बस हुइँक्याउने, ओभरटेक गर्ने, सवारीसाधन हाँक्दै मोबाइल फोनमा कुरा गर्ने, ओभरलोड यात्रु राख्नेजस्ता विषयले पनि दुर्घटना निम्तिने खतरा रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । चालकले सामान्य गल्ती गर्दा उसलाई दण्ड गर्ने महसुस गराएर हो, थर्काएर तनाव दिएर र बेइज्जत गराएर होइन । चालक तनावरहित, नसालु पदार्थबाट पर, अनिद्रा भोक र त्रासरहित अवस्थामा रहनु पर्छ । चालकको दिमागमा सुरक्षित यात्रा र ट्राफिक नियमको पालना मात्र हुनु पर्छ । चालक प्राविधिक रूपमा दक्ष र आचरणमा पनि अब्बल हुनु अनिवार्य छ ।

गाडी चलाउने चालक त हो नि भनेर जसलाई पनि लाइसेन्स दिन बन्द गरिनु पर्छ । यो आममान्छेको जिन्दगी बोकेर हिँड्ने पेसा हो । चाहँदैमा जोकोही सहजै चालक बन्न सक्दैनन् । सवारीचालकलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन लिखित र प्रयोगात्मक परीक्षा मात्र होइन, उसको आनीबानीको समेत पटक पटक मूल्याङ्कन गर्ने, निगरानी राख्ने र परीक्षा लिने व्यवस्था हुनु पर्छ ।

सवारीचालकले सवारीमा यात्रुको स्वास्थ्य, सुरक्षा, खानपान, दिसापिसाबजस्ता सबै पक्षलाई पनि ध्यानमा राखेर यात्रुको सुविधा, असुविधा सोधखोज गर्दै गाडी रोक्ने र हाँक्ने गर्नु पर्छ । चालक र सहचालकका लागि मनोवैज्ञानिक काउन्सिलिङ बारम्बार दिने व्यवस्था हुनु पर्छ । सबैभन्दा ठुलो कुरा यात्रुप्रतिको गहन अभिभारा सदैव महसुस गर्ने सवारी कर्मचारी, चालकको व्यवस्था गर्ने परिपाटी निर्माण गर्नु पर्छ । समग्रमा सडक अनुशासन नै सबै समस्याको निराकरण हो, जसका लागि यात्रु, सडक, चालक, ट्राफिक सबैले अनुशासन पालना गर्नु पर्छ ।