• २५ कात्तिक २०८१, आइतबार

मदन भण्डारी राजमार्गको मोरङ खण्ड निर्माणमा स्थानीय सहयोग आवश्यक

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार मदन भण्डारी राजमार्गको मोरङ खण्डको निरीक्षण गर्नुभएको छ । कतै रुख कटान हुन नसकेर, कतै चौडाइका विषयमा विवाद भएर र कतै मुद्दा परेर राजमार्ग निर्माण रोकिएपछि मन्त्री दाहाल निरीक्षणका लागि मोरङ पुग्नुभएको हो । केही दिनअघि मदन भण्डारी राजमार्ग छोएका मोरङका पालिकाका प्रमुखहरूले सिंहदरबारमा मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले नजिर नबिगारिकन सडक निर्माणको बाटो खोल्ने बताउनुभयो । उहाँले मन्त्रीस्तरीय निर्णयबाट राजमार्ग निर्माणको प्रव्रिmया सुरु गर्ने बताउँदै स्थानीयको साथ सहयोगबिना काम अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो । जङ्गल क्षेत्रका रुख हटाउने प्रव्रिmया पनि चाँडै सुरु गरिने उहाँको भनाइ छ । अवरुद्ध बिपी राजमार्गको रोसी खोला क्षेत्रमा बिहीबारदेखि खोलाबाट अस्थायी ट्र्याक बनाएर गाडी सञ्चालन गरिने मन्त्री दाहालले बताउनुभयो । 

मदन भण्डारी राजमार्ग मोरङका केराबारी, लेटाङ र मिक्लाजुङ गाउँपालिकाभित्र पर्छ । मिक्लाजुङको वडा नं. ९ र ६ को सिमानामा आठ सय मिटर सडक स्थानीयले आयोजनालाई मुद्दा हालेपछि निर्माण रोकिएको छ । चार जना जग्गाधनीले स्वीकृत डिपीआर अनुसार सडक निर्माण गर्न नदिएपछि मधुमल्ला बजार पश्चिमको कसेनीदेखि बव्रmाहा पुलसम्मको आठ सय मिटर सडक निर्माण रोकिएको हो । रोकिएको स्थानको पश्चिमतर्फको सडक कालोपत्रे छ । पूर्वतर्फ कालोपत्रेका लागि बेससमेत हालिसकिएको छ । बिचको आठ सय मिटर सडकमा आफ्नो नम्बरी जग्गा परेको भन्दै शारदाप्रसाद रिमाल, भीमबहादुर खड्का, नयनबहादुर मोक्तान र नरबहादुर तामाङले जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्नुभएको थियो । अदालतले सडक साबिक नक्सा अनुसार लानु भन्दै जग्गाधनीको पक्षमा फैसला गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

यस्तै लेटाङ नगरपालिकाको ३ र ४ नं. वडाका बासिन्दाले सडक २० मिटर चौडाइभन्दा बढाएर लाने भए वैकल्पिक मार्ग खोज्न आग्रह गर्दै निर्माण रोकेका थिए । सडक ५० मिटरको बनाउँदा झन्डै सय घरपरिवार विस्थापित हुने भन्दै नगरपालिकाले मन्त्रीसँग मुख्य बजार क्षेत्रमा २० मिटर चौडाइको कालोपत्रे बनाएर समस्याको समाधान खोज्न आग्रह गरेको छ । लेटाङको बजार क्षेत्रमा डेढ किलोमिटर सडक पर्छ । 

केराबारी गाउँपालिकाको हिमचुली सामुदायिक वनदेखि पूर्व लेटाङ सिमानासम्म सात किलोमिटर जङ्गल क्षेत्रका रुख अझै काटिएको छैन । निर्माण कम्पनी श्रेष्ठ मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुङ्गानाका अनुसार सरकारले साइट खाली नगरिकन टेन्डर आह्वान गर्दा आयोजना, स्थानीय र निर्माण कम्पनी मारमा परेका छन् । उहाँले भन्नुभयो, “२०७८ असार २९ गते सम्झौता भई ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो । सरकारले जङ्गल क्षेत्रका रुख नहटाइदिँदा पुनः म्याद थप्नुपर्ने भयो । यो सडक ३६ महिना अवधिमा सम्पन्न गर्न सकिने अवस्था थियो ।” उहाँले ३ नम्बर प्याकेजको भलुवा–बेलडाँगी सडकको जङ्गल क्षेत्रमा छ किमी र मुद्दा परेको वारिपारि तीन सय मिटरसहित आठ सय मिटरबाहेक सबै काम थप भएको समय आगामी पुस २७ सम्ममा निर्माण सम्पन्न हुने बताउनुभयो ।