• १२ पुस २०८१, शुक्रबार

शान्ति र मुक्तिको पर्व विजयादशमी

blog

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

विजयादशमी अर्थात् दसैँ असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजय, आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । देवताहरूमाथि दमन चक्र चलाई पीडा दिइरहेका महिषासुर दैत्यमाथि देवी दुर्गा वा भगवतीले विजय प्राप्त गरेको घटनाको उत्सवका रूपमा विजयादशमी मनाइन्छ । करिब दुई हप्तासम्म मनाइने पर्व दसैँको ठुलो धार्मिक एवं सांस्कृतिक महत्त्व छ । नेपालमा दसैँ हिन्दुहरूले मात्र हैन, बौद्धमार्गीले पनि धुमधामसाथ मनाउँछन् । यो एक राष्ट्रिय पर्व पनि हो ।

महिषासुर हामीभित्रै लुकेको छ

मार्कण्डेय पुराणमा आधारित दुर्गासप्तशती, जुन दसैँको मूल पुस्तक मानिन्छ, त्यसमा देवी दुर्गाले मधु, कैटभ, शुम्भ, निशुम्भ, रक्तबिज, महिषासुरलगायत विभिन्न असुरको वध गरी मानव समुदाय तथा देवताहरूको कल्याण गरेको वर्णन पाइन्छ । आसुरी शक्ति हामीभित्रै विद्यमान छ, बाहिर कतै खोज्न जान पर्दैन । हाम्रा मन र इन्द्रिय अनियन्त्रित भई त्यसमा पाशविक प्रवृत्ति हाबी भएमा त्यसैबाट मधु, कैटभ वा शुम्भ, निशुम्भजस्ता दैत्य उत्पन्न हुन्छन् । त्यो मन र इन्द्रिय वशमा भएमा त्यहाँ दैवी भाव उत्पन्न हुने शास्त्रका ज्ञाताहरू बताउँछन् । जब हाम्रो मन स्वभावतः काम, वासनाप्रति आकर्षित हुन्छ, तब त्यसबखत आसुरी प्रवृत्ति जागृत हुन्छ भने जब शास्त्रको अध्ययन र गुरु वचनद्वारा अभिप्रेरित भई हामी ती कामनालाई वशमा पार्न समर्थ हुन्छौँ, तब मनमा दैवी प्रवृत्ति उत्पन्न हुन्छ । बृहदारण्यक उपनिषद्को भाष्यमा आदि शङ्कराचार्यले लेखेका छन्, हामीभित्र स्वाभाविक कर्म प्रवृत्ति र शास्त्रजनित कर्म र ज्ञानको प्रवृत्तिबिच जुन अन्तद्र्वन्द्व चलिरहेछ, त्यही देवासुर सङ्ग्राम हो । जब हामी आफ्ना मन र इन्द्रियलाई शास्त्र ज्ञानद्वारा नियन्त्रित गरी स्वाभाविक प्रवृत्तिजस्तै निद्रा, आहार र मैथुनको सीमाबाट माथि उठ्न सफल हुन्छौँ, तब दानवमाथि देवताको विजय हासिल भएको मानिन्छ । 

मोक्ष प्राप्तिनिम्ति अभिप्रेरित गर्ने पर्व

कुनै पनि चाडपर्व मनाउँदा त्यसको सांस्कृतिक तथा परम्परागत पक्षलाई मात्र हेरेर पुग्दैन । त्यस संस्कृति र परम्पराका पछाडि के कस्ता शास्त्रीय मत वा दर्शन छ, त्यसको आध्यात्मिक पक्ष के छ भनेर पनि खोतल्नु जरुरी हुन्छ । स्मरणीय छ, हिन्दु धर्मावलम्बीको संस्कृति र परम्पराको मूल आधार भनेकै वेद, उपनिषद्, इतिहास, पुराण हुन् । वेद, उपनिषद् आदि शास्त्रमा निहित ज्ञानलाई उजागर गर्न, त्यसलाई आत्मसात् गर्न वा त्यसलाई समाजमा स्थापित गर्न विभिन्न संस्कृति र परम्पराको माध्यमले हामीलाई प्रवृत्त गराइएको हुन्छ । अलि गहिरिएर हेर्ने हो भने हिन्दु वा वैदिक सनातन धर्म अन्तर्गत मनाइने चाडपर्वका तीन पाटा वा आयाम हुन्छन् । त्यसको पहिलो पाटो भनेको पारिवारिक जमघट गर्ने मिठो खाने, भोजभतेर र रमाइलो गर्ने आदि हुन् भने दोस्रो पाटो भनेको कर्मकाण्ड हो । कर्मकाण्ड अन्तर्गत आआफ्ना मनोकामना पूर्ति गर्न देवीदेवताको पूजाआजा गर्ने, उपासना गर्ने, व्रत बस्ने, होम यज्ञ, आदि गर्ने प्रावधान छन् । हाम्रा चाडपर्वको तेस्रो र महŒवपूर्ण पाटो भनेको आत्मज्ञान वा आध्यात्मिक लाभ हो । वेदका अनुसार मुक्ति वा मोक्ष प्राप्ति नै मानिसको अन्तिम गन्तव्य हो ।

वेदमा चार प्रकारका पुरुषार्थबारे वर्णन गरिएको छ ः धर्म, अर्थ, काम र मोक्ष । चारै वेदमा यिनै पुरुषार्थ हासिल गर्ने उपायबारे वर्णन पाइन्छ । वेदमा सामान्यतया तीन खण्ड छन् ः पहिलो मन्त्र खण्ड हो, जसमा देवीदेवताका उपासनाका श्लोक तथा मन्त्र उल्लिखित हुन्छन् भने दोस्रो ब्राह्मण खण्डमा ती मन्त्र प्रयोग गर्ने विधि अर्थात् पूजा, पाठ, उपासना, यज्ञ आदि विभिन्न कर्मकाण्डका उपायबारे वर्णन गरिएको हुन्छ । अन्तिम खण्ड हो ज्ञान खण्ड, जसबाट आत्मा, परमात्मा, ब्रह्म, जगत्, सृष्टि, स्थिति, विनाश आदिबारे विश्लेषणात्मक ज्ञान हासिल गर्न सकिन्छ । वेदको यो अन्तिम वा ज्ञान खण्डलाई वेदान्त वा उपनिषद् पनि भनिन्छ ।

अन्य कतिपय धर्ममा स्वर्ग प्राप्ति नै अन्तिम लक्ष्य मानिएको छ भने हिन्दु धर्ममा स्वर्ग नभई मुक्ति वा मोक्षद्वारा जन्म, मरणको चव्रmबाट छुट्कारा पाउनुलाई अन्तिम लक्ष्य मानिएको छ । तसर्थ चार पुरुषार्थमध्ये चौथो मोक्षलाई परम् पुरुषार्थ पनि भनिन्छ । मोक्ष त्यस्तो अवस्था हो, जहाँ पुगेर मानिस यो दुःखको सागर वा सांसारिक बन्धनमा फर्कन पर्दैन । छान्दोग्य उपनिषद्को अन्त्यतिर भनिएको पनि छ, न च पुनरावर्तते अर्थात्, त्यो कहिल्यै पुनरागमन नहुने वा पृथ्वीलोकमा फर्कन नपर्ने गरी ब्रह्मलोकमा गए । कर्मद्वारा हासिल गरिएको पृथ्वी लोक मात्र हैन, पुण्यद्वारा हासिल गरिएको स्वर्ग आदि लोक पनि अनित्य वा नाशवान छ । शास्त्रमा भनिएको पनि छ, “कर्मचितो लोक क्षीयते, पूण्यचितो लोक क्षीयते ।” तसर्थ ज्ञानद्वारा हासिल गरिएको मोक्ष मात्र नित्य र शाश्वत छ, वेदले भन्छ ।

के छ दसैँको मूल पुस्तक दुर्गा सप्तशतीमा ?

दसैँको मूल पुस्तक मानिने दुर्गा सप्तशतीमा पनि तिनै वैदिक ज्ञानलाई कथा, उपमा र उदाहरणद्वारा सम्झाउने प्रयास गरिएको छ । त्यसमा मेधा ऋषिको आज्ञा लिई देवीको पूजाआराधना गरी उपवास बसी देवीलाई प्रसन्न पारेपछि देवीले मनोवाञ्छित वर दिन्छिन् ः एक जनाले राज्य सुख हासिल गर्छ भने अर्कोले मुक्ति ।

कथा अनुसार राजा सुरथलाई उनका भाइभारदारले पदच्यूत गरेर राज्यबाट निकालिदिएपछि उनी विरक्त भई जङ्गल जान्छन् । त्यसै गरी समाधि नामक वैष्यलाई पनि उनकी पत्नी तथा पुत्रहरूले सम्पत्ति सबै खोसेर कङ्गाल पारी घरबाट निकालेपछि उनी पनि जङ्गल पस्छन् । ती दुवै राजा र वैष्यको जङ्गलमा मेधा ऋषिको आश्रमनेर भेट हुन्छ । राजाले मेधा ऋषिलाई आफूले दरबार, सुख, सम्पत्ति सबै त्यागेर आए पनि किन त्यही दरबारको विचार बारम्बार आइरहन्छ, किन दरबारप्रति अहिले पनि मोह जाग्छ मेरो भनेर प्रश्न गर्छन् । वैष्यले पनि ऋषिलाई आफूले त्याग गरेर आएको घर, परिवार, पत्नी र छोराछोरीको मायाले किन सताइरहेछ भनी प्रश्न सोध्छन् । त्यसको जवाफमा मेधा ऋषिले भन्छन्, “यो तिनै सर्वशक्तिमान महामायास्वरूप देवीको सम्मोहन शक्तिले गर्दा मानिसलगायत सबै प्राणी यस संसार चव्रmमा फस्दै आएको र दुःखको भुमरीमा पर्ने गरेको कुरा सुनाउँछन् । जस्तोसुकै मै हुँ भन्ने विद्वान् पनि ती देवीको सम्मोहन शक्तिको प्रभावबाट सजिलै मुक्त हुन नसक्ने बताउँदै ऋषिले यो महामायाबाट छुट्कारा पाउन तिनै देवीको आशिर्वाद चाहिन्छ भनी देवीको पूजाआराधना गर्ने विधि बताउँछ ।

त्यसपछि राजा र वैष्य नदीको किनार गई बालुवाको देवीको मूर्ति बनाई निराहार रही धुप, दीप, नैवेद्य, फूल आदिद्वारा देवीको उपासना गर्नुका साथै आफ्नै शरीरको अलिकति रगत समेत चढाउँछन् (स्मरणीय छ, यहाँ पशु बलिबारे उल्लेख छैन ।) तत्पश्चात् देवीले प्रसन्न भई दुवैलाई चाहे अनुसारको वर दिन्छिन् । राजा सुरथले यसै जन्ममा शत्रुलाई पराजित गरी आफ्नो राज्य फिर्ता पाउँछन् र अर्को जन्ममा सावर्णिक मनुका रूपमा विख्यात हुने वर प्राप्त गर्छन् । वैष्यको भने मायामोह भङ्ग भई वैराग्य उत्पन्न भइसकेकाले आशक्ति भङ्ग गर्ने ज्ञान माग्छ र ज्ञानद्वारा उनले यसै जन्ममा मोक्ष प्राप्त गर्छन् । यसरी राजा सुरथले धर्म, कर्म गरी काम र अर्थ प्राप्त गर्नुका साथै सुखसयल हासिल गर्छन् भने वैष्यले मोक्षरूपी परम् पुरुषार्थ हासिल गर्छन् भन्ने सो कथामा उल्लेख छ । तसर्थ दसैँले हामीलाई सांसारिक सुख, सुविधा र सम्पत्ति मात्र हैन, परमार्थस्वरूप मोक्ष प्राप्तिको पनि मार्गदर्शन गर्छ भन्ने यसबाट प्रस्ट हुन्छ ।

के हो मोहनीको अर्थ ?

नेवारले दसैँलाई किन मोहनी भनी मनाउँछन् भन्ने एउटा प्रसङ्गबारे चर्चा गर्न वाञ्छनीय छ । खासगरी काठमाडौँ उपत्यकाका नेवार विजयादशमीलाई मोहनी नामले मनाउने गर्छन् र दही, चामल, अबिरको रातो टीकाको साथमा कालो थोप्लो टीका पनि लगाउँछन् । मोहनी शब्दले तिनै देवी भगवती जो, महाकाली, महालक्ष्मी, महासरस्वती स्वरूप हुन्, को सम्मोहन शक्तिलाई सङ्केत गर्छ, जसले प्राणीलाई यस संसाररूपी दुःखको सागरमा भुलाइरहेको हुन्छ र जन्म, मृत्युको चक्रमा घुमाइरहन्छ । दसैँमा नेवारहरू जुन कालो टीका लगाउँछन्, त्यो तिनै देवीको आशिर्वादको साङ्केतिक स्वरूप हो, जसले समस्त दुःखबाट छुट्कारा दिलाई अन्ततोगत्वा जन्म, मरणको चक्रबाट मुक्ति वा मोक्ष पाइन्छ भन्ने विश्वास गरिन्छ । अर्थात् विजयादशमीले हामीलाई आध्यात्मिक मार्ग अपनाएर कसरी दुःखबाट मुक्ति पाउने, कसरी चिरस्थायी शान्ति प्राप्त गर्ने र यस सांसारिक बन्धनबाट कसरी मुक्ति हासिल गर्ने भन्ने प्रेरणा दिन्छ ।

शक्ति सञ्चय प्रेम र करुणाद्वारा हुन्छ, हिंसाबाट होइन

अर्को महत्त्वपूर्ण कुरा दसैँसँग जोडिएको बलिसम्बन्धी प्रसङ्ग हो । दसैँको मूल पुस्तक दुर्गा सप्तशतीमा पशु बलिबारे कुनै उल्लेख छैन । त्यसमा राजा र वैष्यले आफ्नै शरीरबाट अलिकति रगत निकाली देवीलाई चढाए भनिएको छ, जसलाई हामी देवीप्रति अपार श्रद्धा र त्यागको भाव दर्शाइएको भनी बुझ्न सक्छौँ । हाम्रो समाजमा दसैँ भन्नेबित्तिकै मासु खाने, पशु बलि दिने भन्ने चलन छ । उता छिमेकी देश भारतका हिन्दुहरू भने नवरात्रिमा व्रत बस्छन्, माछा, मासु खाँदैनन् । बलि भन्नाले त्याग भन्ने बुझिन्छ । हामीले आफ्ना पाँच ज्ञानेन्द्रियलाई वशमा पारेर त्यसलाई सांसारिक कामना पूर्तितिर मात्र प्रवृत्त नगराई लोक कल्याण र आत्मज्ञानप्रति प्रवृत्त गराउन सकेमा त्यो नै असली त्याग र बलिदान हो । पञ्चबलि भन्नाले पाँच प्रकारका जनावर वा पन्छीको बलि दिने नभई काम, व्रmोध, लोभ, मोह, अहङ्कारजस्ता नकारात्मक भावना त्याग्ने अर्थमा त्यसलाई लिन सकिन्छ । पशु हिंसाद्वारा शक्ति सञ्चय हुने नभई पशुपन्छीप्रति प्रेम र सद्भाव दर्शाउन सके सकारात्मक ऊर्जा हासिल हुने हो । 

भागवत्मा भनिएको पनि छ, ती भक्तवत्सल भगवान् समस्त जीवलाई दया गर्नाले, जे जति पाइन्छ, त्यसैमा सन्तुष्ट रहनाले र समस्त इन्द्रियलाई विषयबाट निवृत्त गरी शान्त रहनाले तुरुन्त प्रसन्न हुनुहुन्छ (भागवत् ४.३१.१९) । तसर्थ पशु बलिद्वारा देवी खुसी भई शक्ति प्रदान गर्ने नभई नकारात्मक भावना र कुविचार त्याग्न सकेमा हामीमा शक्ति सञ्चय हुने र त्यसबाट थप जीवन ऊर्जा लाभ भई हामीभित्र दैवी शक्ति उत्पन्न हुनुका साथै जीवनमा स्थायी शान्ति र सुख एवं हासिल भई मुक्तिको मार्गप्रशस्त हुनेमा दुईमत हुन सक्दैन ।