• १० मंसिर २०८१, सोमबार

अधिकांश झोलुङ्गे पुल जीर्ण

blog

बाजुरा समाचारदाता

बाजुरा, असोज २३ गते । बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् । जिल्लाको इकडीगाड, बार्जुगाड, गुइगाड, तिपाडा र कोद्रीगाडलगायतका खोलामा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय कहीँकतैबाट मर्मतसम्भार नभएपछि अहिले जीर्ण बन्दै गएका हुन् ।

विसं २०६० भन्दा पहिला यहाँका स्थानीयका लागि खोला वारपार गर्न सहज हुने गरेर निर्माण गरिएका पुल पछिल्लो समय जीर्ण बन्दै गएको बुढीगङ्गा नगरपालिका–३, बसालीकोट आविका शिक्षक नन्दु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बुढीगङ्गा नगरपालिका–३ र ५ को बिचमा रहेको गुइगाडखोलाको झोलुङ्गे पुल पनि निकै जीर्ण बनेको छ ।” २०६० सालभन्दा पहिला खोला तर्न सहज हुने गरेर बनाएको यो अहिले अहिलेसम्म कतैबाट मर्मत नभएको शिक्षक अधिकारीले बताउनुभयो । गुइगाडखोलामा रहेको झोलुङ्गे पुल यहाँका स्थानीयलाई पैदलयात्रा गर्दा निकै सहज छ तर त्यो पुल भत्किन थालेको धेरै भयो । त्यसलाई मर्मत गर्न निकै आवश्यक रहेको छ । 

यसका लागि आफूले पटक पटक नगर सभामा बोल्ने गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको बुढीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष खडक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि मैले पटक पटक पालिकाको बैठकमा समेत कुरा राख्ने गरेको छु तर पनि त्यहाँबाट कुनै सुनुवाइ भएको छैन ।”