• १० मंसिर २०८१, सोमबार

रोटेपिङको रौनक

blog

नवलपरासी समाचारदाता

बौदीकाली (नवलपरासी), असोज २३ गते । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर क्षेत्री रोटेपिङ खेल्न मन भए पनि खेल्न नपाएको ११ वर्ष भएको सुनाउनुहुन्छ । लोप हुँदै गएको रोटेपिङ यो दसैँतिहारमा खेल्न पाइने उहाँले बताउनुभयो । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो । उहाँले भन्नुभयो, “११ वर्षदेखि कतै पनि रोटेपिङ खेल्न त परै जाओस्, देख्न पनि पाएको छैन ।” अहिलेका युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको उहाँको भनाइ छ । नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, भएकाले चर्खेपिङको महत्व हराउँदै गएको स्थानीय राजु कँडेलले बताउनुभयो । दसैँका बेलामा आकर्षणका रूपमा खेलिने रोटेपिङ जिल्लामा पछिल्लो ११ वर्षयता हराउँदै जान थालेको छ । एक दशकअघिसम्म दसैँ लागेसँगै चोक चोक र टोल टोलमा देखिने यस्ता रोटेपिङ ११ वर्षपछि आफूले देख्न पाएको बौदीकाली–१, मिथुकरमका चोलनाग कँडेलले बताउनुभयो ।

जिल्लामा विगत १० वर्षदेखि यता कहीँ पनि रोटेपिङ देखिएन । पिङ हाल्ने र खेल्ने परम्परा एक किसिमले लोप नै हुँदै गएकाले गाउँपालिकाले लिङ्गे र रोटेपिङको संरक्षणका लागि बजेट नै विनियोजन गरेर संरक्षणमा जुटेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागिपरेको गाउँपालिकाले जनाएको छ । बस्ती पातलिँदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा हरेक वर्ष खेलिने यस्ता पिङ लोप हुन नदिनु पनि संस्कृतिको जगेर्ना हुने संस्कृतिविद् भीम सुवेदी बताउनुहुन्छ ।