• ३० असोज २०८१, बुधबार

बालबालिकालाई दक्षिणा मुना

blog

गैँडाकोट इङ्ग्लिस स्कुलले दसैँमा टीका र जमरासहित दक्षिणाका रूपमा मुना बालपत्रिका प्रदान गरेको छ ।

नारायणगढ समाचारदाता

नारायणगढ, असोज २३ गते । पूर्वी नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुलले दसैँ बिदामा पढ्नका लागि मुना मासिक पत्रिका वितरण गरेको छ । दसैँको टीका र जमरासहित विद्यार्थीलाई मुना उपहार दिइएको हो । 

विद्यालयका सहप्रधानाध्यापक नवराज कँडेलका अनुसार पठन संस्कृति प्रेरित गर्ने उद्देश्यसहित विद्यालयमा आयोजित दसैँको टीका, जमरा कार्यक्रममा गोरखापत्र संस्थानद्वारा प्रकाशित मुना बालपत्रिका वितरण गरिएको हो । प्रधानाध्यापक हिरालाल अर्यालले विद्यार्थीलाई मुना बालपत्रिकासहित टीका र जमरा लगाएर आशीर्वाद दिनुभएको थियो । दक्षिणाका रूपमा पैसा दिँदा खर्च गरेर सकिने भएकाले मुना बालपत्रिका दिइएको जनाइएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका पूर्वअध्यक्ष श्यामराज रानाभाट र भरतपुर–१३ का कृष्णप्रसाद सिम्खडाले विद्यालयलाई छ सय थान मुना बालपत्रिका उपलब्ध गराउनुभएको जनाइएको छ । सम्पूर्ण किताब नारायणगढले चितवन र यस वरपरका क्षेत्रमा पठन संस्कृतिको विकास गराउन विद्यार्थीलाई मुना पठाउने अभियानसमेत थालेको छ । सम्पूर्ण किताव नारायणगढका सञ्चालक लेखराम सापकोटाले चितवन र यस आसपासका विद्यालयमा मुना पठाउने अभियान थालिएको जानकारी दिनुभयो ।