• १९ पुस २०८१, शुक्रबार

पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श

blog

बाल्टिमोर,(अमेरिका) असोज २३ गते । पत्रकार दीर्घराज उपाध्यायद्वारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आईतबार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम समाज मेरिल्याण्डद्वारा बडा दशैं तथा दीपावलीको अवसरमा बाल्टिमोरमा आयोजित कार्यक्रममा पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श गरिएको थियो ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार तिर्थराज पाण्डेयले उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा मुलुकले व्यहोरेको १० वर्षे द्वन्द्वको चित्रण गरिएको बताउनुभयो।


पुस्तकमा पत्रकार उपाध्यायका भोगाई र अनुभव मात्र छैनन, साहित्यकार पाण्डेयले भन्नुभयो, पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर पुस्तकमा समेटिएको छ । यो पुस्तक द्वन्द्वका १० वर्षको ऐना हो ।

साहित्य र पत्रकारिताका माध्यमबाट उपाध्यायले पुर्‍याएको योगदानको चर्चा गर्दै साहित्यकार पाण्डेयले उपाध्यायको पुस्तक अहिले र भावी पुस्ताका लागि पढ्नै पर्ने दस्तावेज भएको बताउनुभयो ।

पत्रकार उपाध्यायले पुस्तकमा नेपाली पत्रकारिता र समाजले भोगेका अनुभव, पीडा र संघर्षहरु समेटिएको बताउनुभयो ।

यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्वाह गरेका संघर्ष र अनुभवका कथाहरु मात्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।

द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामी पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताउनुभयो । 

कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट आमा म आउँदैछु, छोरी र बा शिर्षकको कविता सुनाउनुभयो ।

पत्रकार उपाध्यायले सुदूरपश्चिम समाज बाल्टिमोरद्वारा पुस्तकमाथि विमर्श कार्यक्रमको आयोजनासंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आयोजक र सहभागीहरुप्रति आभार व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा सुदूरपश्चिम समाजका तर्फबाट पत्रकार तथा लेखक उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको थियो । 

सुदूरपश्चिम समाजका अध्यक्ष बिक्रम शाही, बानाका अध्यक्ष सुबोध विलाश पन्त, समाजका पूर्व अध्यक्ष दमन विक्रम शाह, साहित्यकार तिर्थराज पाण्डेय, समाजका अगुवा भीम बिक लगायतले उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । 

कार्यक्रमको सञ्चालन सुदूरपश्चिम समाजका महासचिव यज्ञ बहादुर रानाले गर्नुभएको थियो ।