• २३ असोज २०८१, बुधबार

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

blog

नेपालगन्जका मिठाई पसलको अनुगमन गर्दै संयुक्त अनुगमन टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २२ गते । दसैं जस्तो ठुलो चाडपर्व शुरु भइसकेको बेला नेपालगन्जमा अखाद्य, गुणस्तरहीन र खान अयोग्य मासु, माछा तथा मिठाई बिक्री गर्ने व्यवसायीहरुलाई धमाधम कारवाही गर्न थालिएको छ । 

संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनको क्रममा सडेको र बासी खान अयोग्य मासु बेचेको भेटेपछि दुई व्यवसायीलाई कारबाही गरेर २५ हजार जरिवाना तिराए लगत्तै खान अयोग्य मिठाई बिक्री गर्ने नगरका चर्चित पाँचवटा मिठाई व्यवसायीलाई पनि कारवाही गरेको छ ।

अनुगमन समितिले नेपालगन्ज बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य र हानिकारक मिठाई बेच्ने पाँचवटा पसललाई कारवाही गरेर ५५ हजार रुपियाँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले बताउनुभयो । 

उहाँले अनुगमनका क्रममा खान अयोग्य तथा हानिकारक मिठाई बिक्री गरिरहेको पाएपछि स्थानीय अमन स्वीट पसल, खुसी मिठाई पसल, फेमस हलुवा परोठा, नेपालगन्ज मिष्ठान्न तथा बागेश्वरी मिठाई पसललाई कारबाही गरिएको बताउनुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख खत्रीका अनुसार अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०÷१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको छ । 

सो क्रममा १६ हजार ७०० रुपियाँको खान अयोग्य मिठाई पनि नष्ट गरिएको प्रमुख खत्रीले बताउनुभयो । 

चाडपर्वको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो स्थानीयबाट आएपछि बजार अनुगमन गर्दा हानिकारक र खान अयोग्य मिठाई बिक्री गरिएको देखिएका पसललाई कारवाही गरेर अन्य विभिन्न सामान्य कैफियत देखिएका आधा दर्जन बढी व्यवसायीलाई पहिलो पटक सचेत गराइएको अनुगमन टोलीले जनाएको छ । 

संयुक्त बजार अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला र वडा प्रहरी कार्यालयका कर्मचारी तथा प्रहरीको सहभागिता रहेको थियो ।