• २२ असोज २०८१, मङ्गलबार

महानगरपालिका कार्यपालिका बैठक : गौशाला सञ्चालन व्यवस्थापन गर्ने निर्णय

blog

सहमति पत्रमा हस्ताक्षर 

काठमाडौँ, असोज २२ गते। पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ। 

असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय मंगलबार बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो। 

सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गर्नुभएको हो। 

सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले भन्नुभयो, ‘यस्ता सार्वजनिक महत्त्वका स्थानको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो।’ 

‘धर्मशाला मन्दिर हो। सम्पत्ति कोषको हो।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले भन्नुभयो, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो।’

‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रूपमा लिएका छौँ,’ कोषका कार्यकारी निर्देशक जोशीले भन्नुभयो, ‘महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौँ।’   

पशुपति गौशाला महानगरपालिकाको वडा नम्बर ८ क्षेत्रमा पर्छ। कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ। 

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन्। यसका लागि वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहनुहुनेछ।