• २२ असोज २०८१, मङ्गलबार

सशस्त्र प्रहरीद्वारा टिपतालाको निरीक्षण

blog

टिपताला पुगेको ओलाङ्चुङगोला बीओपीको सशस्त्र प्रहरी टोली।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २२ गते। ताप्लेजुङको ओलाङ्चुङगोलास्थित सशस्त्र प्रहरी बल बीओपी (बोर्डर पोष्ट आउट) को टोलीले टिपतालाको निरीक्षण गरेको छ। बीओपीको टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत नेपालको सिमाना टिपतालाको निरीक्षण गरेको हो।

दसैँ भित्रिएसँगै नेपालीमा छाएको चाडपर्वको रौनक र प्रतिकुल मौसमको कुनै प्रवाह नगरी उत्तरी ताप्लेजुङमा पर्ने पाँच हजार १५० मिटर उचाइमा अवस्थित टिपताना नाका क्षेत्रको सशस्त्र प्रहरीले निरीक्षण गरेको हो। ओलाङ्चुङगोला बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको नेतृत्वमा गएको टोलीले सीमा क्षेत्रको निरीक्षण तथा अवलोकन गरेको हो।

सप्रनि खत्री नेतृत्वमा गएको १० जनाको टोलीले टिपताला सीमा क्षेत्र निरीक्षण साथै त्यहाँ रहेको ७९ नम्बरको सीमा स्तम्भको अवलोकनसमेत गरेको फर्केको सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घाका गुल्मपति नरेश महर्जनले जानकारी दिनुभयो। गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक महर्जनका अनुसार टोलीले सीमा स्तम्भ रहेको क्षेत्रमा सरसफाईसमेत गरेको छ।

सीमा क्षेत्र भ्रमण तथा निरीक्षणमा गएको टोलीले तिब्बततर्फका समकक्षी अध्यागमन अधिकृत, प्रहरी अधिकृत लगायतसँग भेटघाट गरी सीमा सुरक्षा तथा निगरानीका विषयमा सामान्य छलफलसमेत गरेको बताइएको छ। ओलाङ्चुङगोलादेखि टिपताला पुगेर फर्कनलाई चार दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ।