• २२ असोज २०८१, मङ्गलबार

बलि चढाउने बोकाको मनोमानी मूल्य

blog

लहान–५ र ९ को सिमानामा रहेको बाख्रा बजारमा बलीको लागि बोका खरिद बिक्री गर्नेहरूको सोमबार देखिएको भिड । तस्बिर : जीवछ

जीवछ यादव

लहान, असोज २२ गते । दसैँमा देवी दुर्गाको मन्दिरमा बोकाको बली दिन बोका खरिद गर्ने भक्तजन(उपभोक्ताहरू) मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । 

लहानमा शुक्रबार र सोमबार लाग्ने हाट बजारमा यस वर्षपनि मनोमानी मूल्य तिर्नुपरेको लहान–१ को गङ्गा प्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार हिजो सोमबार अन्तिम हटिया परेकोले पाँच हजार मूल्य हुनुपर्ने बोका सात हजारमा, सात हजार पर्ने दस हजारमा र दस हजार मूल्य हुनुपर्ने बोकाको मूल्य १५ हजारमा खरिद गर्नुपर्‍यो । यसरी ठगिनुको कारण बोकाको मूल्य निर्धारण नहुनु हो । 

गङ्गा प्रसाद यादव जस्तै धेरै भक्तजनहरूले यस्तै गुनासो गर्नुभयो । लहानमा खसी बोका बिक्री हुने बाख्रा बजारमा कहिले पनि मूल्य सूची नहुनु विडम्बना रहँदै आएको छ । सोमबार खसीबोकाको मूल्य मनोमानी त रह्यो नै साथसाथै खरिद बिक्री गर्दा दुई सयको रसिद दिएर अढाई सयको दरले लिने अर्को समस्या रह्यो । 

लहान नगरपालिकाले खसीबोका खरिद विक्री हुने बाख्रा बजारको व्यवस्थापनमा लहान नगरपालिका पशु शाखाका प्रमुख रहँदा कयौँ पटक मूल्य निर्धारणको र पशु वधशालाको उचित व्यवस्थापनको लागि अथक प्रयास गरेपनि सफल हुन नसककेको पशु शाखाका पूर्व प्रमुख रामकृष्ण यादवले भन्दै मूल्य निर्धारण नहुँदा अरू समयभनदा दसैँको बेला उपभोक्ता भजजनहरु ठगिँदै आइरहेको छ । उहाँले भन्नुभयो, "बजार समिति पशुशाखा र सम्बनिधत वडा मिलेर मूल्य निर्धारणको आधार कति तौलको खसी बोका हो तौलेर निर्धारण गर्नुपर्छ ।"

मूल्य निर्धारण नहुनु रसिद काटेको भन्दा बढी रकम खुललेआम लिइरहँदा लहान नगरपालिकाले केही नगर्नुमा नगरपालिका चुनाव जितेका सत्ताधारी दलले आफ्नो नजिकको नेता कार्यकर्ताहरूलाई सहुलियत दिनको लागि यस्तो हुँदै आइरहेको गुनासो उपभोक्ताहरूबाट व्यापक रूपमा भए पनि समाधान केही हुन नसकिरहेको लहान–९ का पूर्व वडाध्यक्ष प्रदीप कुमार चौधरीले प्रस्ट्याउनुभयो । 

लहान नगरपालिका क्षेत्रभित्र होटेल र विभिन्न सप्लायर्सहरुमा छापा मार्ने अनुगमन समितिले खसीबोका बिक्री हुने बाख्रा बजारमा कुनै अनुगमन किन नगरेको भने अहम् प्रश्न उठिरहेको लहान–५ का पूर्व वडाध्यक्ष सुलेमान अनसारीले बताउनुभयो । उहाँका अनुसार बाख्रा बजार, माछा बजार र तरकारी बजारमा मूल्य निर्धारण नहुँदा उपभोक्ताहरू ठगिँदै आइरहेको छ ।

"प्रति बोका ५० रुपियाँ थप लिएको विषयमा लहान नगरपालिकाले छानबिन गरी कारबाही गर्नुपर्ने बोका खरिद गर्न आएका लहान–३ का दीपक साहले माग गर्नुभयो । "विगत वर्षको तुलनामा यस वर्ष बाख्रा बजारमा खसीबोका खरिद गर्न गएका उपभोक्ता भझजनहरु बढी सास्ती खप्नु परेको छ," उहाँले भन्नुभयो ।