• १० मंसिर २०८१, सोमबार

विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय बैठक

स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग स्वास्थ्यमन्त्रीको आग्रह

blog

विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाली स्वास्थ्यमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । तस्बिरः विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं, असोज २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गरेका छन् । 

दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनु भयो । 

भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नभयो, ‘‘दक्षिण एसिया जनसाङ्ख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’’ 

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी हाम्रा देशका स्वास्थ्य सङ्कटसँग लड्न आफैं पनि स्राेत बढाउने प्रयास गरिरहेका छौं ।’’ सङ्गठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र सङ्गठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक  स्राेत थप गर्नुपर्ने जोड दिएका छन् । 

बैठकका क्रममा मन्त्री पौडेलले सङ्गठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेटवार्ता गर्नुभयो । त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै सङ्गठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गर्नुभयो 

उहाँले सङ्गठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा सङ्गठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाउनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ ।