• २१ असोज २०८१, सोमबार

नारायणखोलामा तीन महिनापछि यातायात सञ्चालनमा

blog

नारायणखोलाबाट यात्रु लिएर सोमबार लालबन्दी बजार आएका यात्रुबस ।

जनार्जन खत्री

सर्लाही, असोज २१  गते । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा तीन महिनापछि यातायातका साधन सञ्चालनमा आएका छन् । 

सडक सञ्जालमा नजोडिएको नारायणखोलामा खोलाको बाटो मर्मत गरेर सोमबारबाट बस, बोलेरो र ट्याक्टर सञ्चालन गर्न थालिएको हो । दसैँका बेला लालबन्दी बजारसम्म गाडी चल्न थालेपछि स्थानीय खुसी भएका छन् । 

यातायात व्यवसायी समेत रहेका नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले दुई दिन लगाएर खोलाको बाटो मर्मत गरेपछि आजबाट नारायणखोलाको मोटरदोभानसम्म गाडी पुगेको जानकारी दिनुभयो । सिन्धुलीको सिमाना चुरेसम्म नै गाडी पुर्‍याउन खोलाको बाटो सम्याउने काम भइरहेको वडाध्यक्ष घिसिङले बताउनुभयो । 

सिन्धुलीतर्फ मरिण गाउँपालिकाले पनि चुरेसम्म आउने खोलाको बाटो मर्मत गरेकाले केही दिनभित्रै लालबन्दीबाट छुटेका बस नारायणखोला हुँदै मरिणसम्म पुग्ने घिसिङको भनाई छ । नारायणखोलामा सोमबार पहिलो दिन दुईवटा बस, चारवटा ट्याक्टर र केही बोलेरोले यात्रु ओसारेका छन् । अन्य कुनै विकल्प नहुँदा नारायणखोलाका स्थानीय खोलाको बगरबाट चल्ने बस, बोलेरो र ट्याक्टरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यातायात व्यवसायीले केही दिनअघि नै खोलाको बाटो मर्मत गरेर गाडी गुडाउने तयारी गरेपनि असोज दोस्रो साताको भारी वर्षापछि समस्या उत्पन्न भएको थियो ।

बिचमा केही दिन बाढी आएकै बेला ट्याक्टरमा खाद्यान्न लगिएको थियो । लालबन्दी १४ को वडा कार्यालयले खोलामा गाडी हिँड्ने बाटो बनाउन अहिले पनि दुईवटा जेसीबी प्रयोग गरिरहेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो । 

नारायणखोलाको पूर्वी भेग लखन्देही खोलामा एउटा र पश्चिमी भेग डाइनीखोलातर्फ अर्को जेसीबी प्रयोग गरेर खोलामा बाटो बनाउने काम भइरहेको हो । नारायणखोलास्थित पन्ध्रबिगाहका लालबहादुर योन्जनले तल्लो भेगसम्म जेसीबीले खोलामा बाटो बनाउने काम गरिरहेकाले आफूहरूको ठाउँसम्म बस आउन बाँकी नै रहेको जानकारी दिनुभयो । 

आफू आइतबार मात्र पत्थरकोटसम्म चार घण्टा हिँडेर लालबन्दी बजार पुगेर औषधी उपचार गराई फर्किएको योन्जनले बताउनुभयो । लालबन्दी बजारदेखि पत्थरकोटसम्म कालोपत्रे सडक पुगेपनि त्यहाँदेखि उत्तर नारायणखोलातर्फ जान खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ । 

वर्षाद् रोकिएर खोलामा पानी घटेपछि बाँके, फूलजोर र कालिन्जोर खोला भएर जाने शिर कालिन्जोर, भित्रीखोला, पिपलदमारलगायत क्षेत्रमा पनि गाडी चलाउने तयारी गरिएको छ । हिउँदयाममा खोलाबाट गाडी चल्ने चुरेका यी क्षेत्रमा वर्षायाममा खोलाबाढीमा हेलिएरै पैदल हिँड्नुको विकल्प छैन ।