• २१ असोज २०८१, सोमबार

सहुलियतसँगै गुणस्तर प्राथमिकता

blog

नेपालमा सार्वजनिक संस्थानहरूले राम्रो सफलता प्राप्त गर्न नसकिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफूलाई सफल संस्थानका रूपमा स्थापित गराउन सफल भएको छ । नेपालमा सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा २०२० भदौ २७ गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको स्थापना गरिएको हो । यसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २२ प्रतिशत सेयर छ भने ७८ प्रतिशत नागरिकको सेयर छ । साथै यसले सार्वजनिक संस्थानहरूकै इतिहासमा नुन जस्तो अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । आयोडिनयुक्त नुन देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवं कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ साल्ट ट्रेडिङको स्थापना भएको थियो । साल्ट ट्रेडिङ स्थापना अघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नुन आयातको अनुमति दिँदै आएको थियो । छ दशकअघि विसं २०२० मा सरकारले साल्ट ट्रेडिङलाई मात्रै नुन आयात गर्न दिने नीति लियो । उक्त नीतिविरुद्ध केही नुन उद्योगले सर्वोच्च अदालतमा मुद्दा पनि हाले । सर्वोच्च अदालतले २०६१ सालमा उक्त मुद्दा नै खारेज गरिदिएको थियो । 

सहुलियत मूल्य पसल 

कर्पोरेसनको स्थापनाको उद्देश्य सबैलाई आयोडिनयुक्त नुन बिक्री गर्नेमा मात्रै सीमित छैन । अत्यावश्यकीय खाद्यवस्तुको आपूर्तिलाई व्यवस्थित गर्ने र बजार भाउ नियन्त्रण गर्ने पनि रहेको छ । कर्पोरेसनले सोही अनुसार नेपालीका ठुला चाडपर्वका बेला होस् वा देशमा प्राकृतिक विपत्का बेला  सहुलियत मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्री गरेर देशको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पु¥याइरहेको छ । यसले सरकारसँग एक करोड रुपियाँ अनुदान लिएर २०८१ सालको दसैँतिहार र छठ जस्ता ठुला चाडपर्वलक्षित  उपत्यकाका ११ स्थानसहित देशका दुर्गम र सुगम जिल्लामा समेत विशेष छुटमा अत्यावश्यकीय खाद्यवस्तु बिक्रीवितरण गर्दै आएको छ । कर्पोरेसनले हाल चाडपर्वलक्षित बिक्री केन्द्रबाट चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट गरेर दुई केजीको प्याकेटको २०५ रुपियाँ, नुन प्रतिकेजीको दुई रुपियाँ छुट गरेर २४ रुपियाँ प्याकेटमा बिक्री गर्दै आएको छ । यस्तै दाल, गेडागुडी, चामल, चिउरा, मैदा, आटामा प्रतिकेजी सात रुपियाँ छुट गरेको छ भने खानेतेलमा प्रतिलिटर सात रुपियाँ छुटमा बिक्री गरिरहेको छ । 

बाढी प्रभावित क्षेत्रलाई प्राथमिकता

यस्तै कर्पोरेसनले तीन वटा मोबाइल भ्यानमार्फत उपत्यकाका बाढी प्रभावित क्षेत्र बल्खु, कलङ्की, कुपन्डोल, नक्खु, पाटन, भक्तपुर, कोटेश्वरलगायतमा छुटमार्फत बिक्री गरिरहेको छ । यीबाहेक कर्पोरेसनले उपत्यकाबाहिर कार्यालयका बिक्री केन्द्र र बाढी प्रभावित जिल्लामा पनि नेपाल चेम्बर अफ कमर्ससँग मिलेर धादिङको बाढी प्रभावित ठाउँ, नुवाकोट र काभ्रेमा पनि नयाँ बिक्री केन्द्र थप गरी सहुलियत दरमा सामान बिक्री गर्दै आएको छ । कर्पोरेसनले उपत्यकामा तीन वटा मोबाइल भ्यानमार्फत बाढी प्रभावित ठाउँका उपभोक्तालाई प्राथमिकता दिएर खाद्यवस्तु बिक्री गरिरहेको छ । बाढी प्रभावित क्षेत्रका उपभोक्तालाई थोरै भए पनि राहत होस् भनेर मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । 

सरकारले हरेक वर्ष चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल दुग्ध विकास संस्थान (डिडिसी) मार्फत सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्ष कर्पोरेसनले सञ्चालन गरेका सहुलियत मूल्य पसल त्यसैको निरन्तरता हो । कर्पोरसनले यही असोज ७ गतेदेखि कात्तिक २३ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ । 

व्यापार विस्तार

कर्पोरेसनले हाल आफ्नो उद्देश्य अनुसार गुणस्तरीय खाद्यवस्तुको बिक्रीवितरण, मूल्यमा एकरूपता र वस्तुको सहज उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ । कर्पोरेसनले नेपालमै पहिलो पटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिलमा लगानी गरी हेटौँडास्थित खाद्य उद्योग लिमिटेडले २०३० सालदेखि मैदा उत्पादन थालेको छ । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेसनले नेपालमै उत्पादित कृषि वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति अनुरूप उक्त उद्योग स्थापना गरेको हो । नेपाली भूमिमा उत्पादित गहुँको बजारीकरण, प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवर्धन गर्ने यसको मुख्य उद्देश्य रहेको छ । यस्तै कम्पनीले वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेसनल फाइनान्स लिमिटेडलगायतमा पनि लगानी गरेको छ । सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बिउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरिदबिक्री क्षेत्रमा कम्पनीको लगानी छ । वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखानालगायतका केही उद्योग हाल बन्द छन् । यद्यपि संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलियत रासायनिक मल र खाद्यान्न व्यापारले भने सफलता हात पारेको छ । 

छ महिनाको नुन मौज्दात 

साल्ट ट्रेडिङ कर्पोरेसन २०२० भदौ २७ गते सरकारको अग्रसरतामा त्यतिबेलाका नुन व्यापारीसँगको लगानी र साझेदारीमा स्थापना भएको थियो । यो कम्पनी नेपालमा सार्वजनिक निजी साझेदारीको पहिलो नमुना पनि हो । आपूर्तिको सन्दर्भमा सरकारको मन्त्रीपरिषद्बाट आयोडिनयुक्त नुनको नेपालभर बिक्रीवितरणका लागि स्वीकृति दिएको थियो । सरकारले आफ्नो यो काम साल्ट ट्रेडिङमार्फत गर्ने÷गराउने व्यवस्था गरेको हो । सोही अनुसार कर्पोरेसनले पनि देशभर आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ । सुरुका वर्षमा देशका सबै ठाउँमा नुन बिक्रीवितरण गर्न त्यति सहज थिएन । सरकारले दिएको जिम्मेवारी जसरी पनि पूरा गर्नु पर्छ भनेर अहोरात्र काम गरिरह्यो । देशभरको आपूर्ति व्यवस्था सहज बनाउन कम्तीमा पनि छ महिनाको आपूर्तिको भण्डारण मौज्दात राख्नु पर्छ । अन्यथा गाह्रो हुन्छ । नुनको उत्पादनमा मौसमले असर पारिरहेको हुन्छ । वर्षमा तीन/चार महिना मात्र नुनको उत्पादन हुन्छ । उत्पादनको समयलगत्तै नेपालमा मनसुन हुन्छ । जसकारण नेपालमा नुन ल्याउन कठिनाइ हुन्छ । त्यसैले सहज तरिकाले नुनको आपूर्ति र भण्डारणका लागि यसमा वार्षिक डेढ/दुई अर्ब रुपियाँ लगानी गर्नु पर्छ । कर्पोरेसनको आम्दानीको ठुलो हिस्सा नुनमा लगानी गर्न परिरहेको छ । कर्पोरेसनसँग नुनको मौज्दात छ महिलासम्म पुग्ने हुन्छ किन भने देशमा जुनसुकै बेला विपत्ति आउन सक्छ । पछिल्ला केही वर्षयता देशलाई पर्ने ठुला विपत्ति महाभूकम्प, महिनौँ लामा नाकाबन्दी, कोरोना महामारीमा पनि नुनको अभाव पनि भएन र मूल्य पनि बढेन । 

कर्पोरेसनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सहुलियत मूल्य, गुणस्तरीय एवं सर्वसुलभतालाई मूल मन्त्रका रूपमा लिँदै आमउपभोक्ताका लागि सेवा प्रवाह गर्दै आएको छ । यसलाई निरन्तरता दिन अझै प्रभावकारी रूपमा आमउपभोक्ताको सेवामा सक्रिय रहने छ । कर्पोरेसनले उपभोक्ताका लागि अत्यावश्यकीय वस्तु नुन, चिनी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्यका साथ आफ्ना सेवा छ दशकभन्दा बढी समय पूरा गरेको छ । देशमा आइपर्ने जस्तोसुकै परिस्थितिमा कर्पोरेसनले उपभोक्ताको घरदैलोमा सेवा पु¥याउने यात्रालाई निरन्तरता दिएको छ । कर्पोरेसनले कारोबार र सेवा क्षेत्र दिनप्रतिदिन बढाउँदै लगेको छ । आउँदा दिनमा कर्पोरेसन सेवा क्षेत्रलाई अझै विस्तार गर्ने नीति लिएर अगाडि बढेको छ । 

(साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उर्मिला श्रेष्ठसँग गोरखापत्रकर्मी सीता शर्माको कुराकानीमा आधारित)