• २० असोज २०८१, आइतबार

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटक विमर्श

blog

मनिष हेल्लोकको जनयुद्ध नाटक पुस्तक विमर्श कार्यक्रमका अतिथि । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार कार्यक्रम आयोजना गरी उक्त नाटक पुस्तकको विमर्श गरिएको हो । 

जिल्लास्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याउनुभएको थियो । समीक्षकका रूपमा कार्यक्रममा सहभागी हुनुभएका ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराईले नाटक पुस्तकको चर्चा गर्नुभयो ।

पुस्तकको समीक्षा गर्नुहुँदै भट्टराईले नाटक विधा पुस्तकसँगै मञ्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताउनुभयो । नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो । साहित्यकार हेल्लोकले जनयुद्धबाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गर्नुभएको छ ।

यस्तै, सुन्दर समाजका सपनाहरू, चेलीका सुस्केराहरू, सुन्नीमाको कारुणिक कथा नामक लघु उपन्यास खेल्नुभएको छ । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तकहरू प्रकाशित भइसकेका छन् ।