जानु पाण्डे
कपिलवस्तु, पुस २२ गते । जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ ।
सोमबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शिवराज नगरपालिका वडा ५ स्थित समानता एफएमनजिक कृष्णनगर–चन्द्रौटा सडक खण्डबाट लु १ च ९२७९ नम्बरको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उक्त गाडी चालक शिवराज नगरपालिका वडा ५ खैरी बस्ने ३६ वर्षीय शेषबहादुर चौधरीले प्रज्ञापनपत्रमा तोकिए बमोजिमको सामान नराखी एक हजार ७४० केजी सिद्रा माछा ओसारपसार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमध्ये बोलेरो पिकअप गाडी १ थानको मूल्य १२ लाख र सिद्रा माछाको मूल्य ५ लाख ५६ हजार ८ सय गरी जम्मा १७ लाख ५६ हजार ८ सय बराबरको सामग्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
चालक, सवारी साधन तथा बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको उहाँले बताउनुभयो ।