• १० मंसिर २०८१, सोमबार

आध्यात्मिक खोजको उच्चतम साधना

blog

विश्वप्रसिद्ध सन्त योगानन्द परमहंसद्वारा लिखित ‘अटोबायोग्राफी अफ योगी’ अर्थात् योगीको आत्मकथाले क्रियायोगको सन्दर्भलाई संसारमा विशेष चर्चाको विषय बनाई दियो । सो पुस्तकमा क्रियायोगको अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा उल्लेख गरिएको छैन तर क्रियायोग सिक्नका लागि गुरुपरम्पराबाट दीक्षा लिनुपर्ने कुरा बताइएको छ । भन्नुको अर्थ क्रियायोगको अभ्यास पुस्तक पढेर हुँदैन, गुरुपरम्पराबाट सिक्नु पर्छ भन्ने छ । गुरुसँग क्रियायोगमा विधिवत् दीक्षा लिएपछि मात्र सो योगको साधना सुरु हुन्छ भनेको छ । 

जब परमहंस योगानन्द भारतबाट पश्चिम गए, तबदेखि क्रियायोग दीक्षा र साधनाको सन्दर्भमा धेरै चर्चामा आएको पाइन्छ । क्रियायोगले यति व्यापकता पाएको छ कि अधिकांश पूर्व तथा पश्चिमका राष्ट्रहरूमा यसको अभ्यास गराउने गरिएको छ । यद्यपि अधिकांश प्रशिक्षण कति आधिकारिक छ त्यो भन्न सकिने अवस्था छैन । क्रिया शब्द संस्कृतबाट आएको हो । क्रिया शब्दको अर्थ कर्म गर्नु हो । सम्बन्ध जोड्ने अर्थमा योग शब्द प्रयोग हुन्छ । क्रियायोग शब्दले कुनै विशिष्ट क्रिया वा विधिद्वारा जीवलाई परमात्मासँग मिलन गराउने अर्थ प्रदान गर्छ ।

क्रियायोग प्रक्रिया एक विशिष्ट प्रकारको प्राणायाम साधना पद्धति हो । यो योग निष्ठापूर्वक नित्य अभ्यास गर्नाले जीव जन्ममरणको चक्करबाट छिटै मुक्त हुन्छ र ईश्वरसँग साक्षात्कार गर्दछ भनिएको पाइन्छ । श्रीमद्भगवद् गीतामा क्रियायोगबारे यसरी वर्णन गरिएको छ, ‘अपान वायुलाई प्राण वायुमा र प्राण वायुलाई अपानमा होम गरिन्छ । त्यसै गरी प्राणायाम परायण भएर प्राण र अपानको गतिलाई रोकेर प्राणलाई प्राणमा नै होम गर्दछ ।’ जसमा प्राणवायु र अपानवायुलाई आपसमा मिलाई समान गर्ने प्रयास गरिन्छ । प्राणवायु र अपान वायु भनेको के हो र कसरी यसलाई मिलाउने भन्ने विधि गुरुपरम्पराबाट सिक्नुपर्ने कुरा शास्त्र बताउँछ । 

महर्षि पतञ्जलिले भने क्रियायोग साधनालाई छुट्टै प्रकारले व्याख्या गरेका छन् । उनले अष्टाङ्ग योग साधनाको यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिमध्ये दोस्रो अङ्ग नियम अन्तर्गत पर्ने तप, स्वाध्याय र ईश्वर प्रणिधानलाई नै क्रियायोग साधना भन्नुभएको छ । यसको वास्तविक अर्थ जहाँ विधिपूर्वक तपस्या हुन्छ, सत्यको यथार्थ चिन्तन हुन्छ र अन्तमा ईश्वरप्रति पूर्ण समर्पण हुन्छ भने तब त्यहीँबाट क्रियायोग साधना सुरु हुन्छ भन्ने उनको आशय हो । 

योग साधनामा यम, नियम र आसनको जति महत्व छ, त्योभन्दा पनि कैयौँ गुणा प्राणायाम अभ्यासको महìव छ । हुन त आसन गर्दा पनि प्राणायामलाई ध्यान दिएर गरिन्छ, जसमा आसन गर्दा श्वासको रेचक, पूरक र कुम्भकको अवस्थालाई हेरेर अभ्यास गरिन्छ । योग दर्शनका अनुसार प्राणायामभन्दा श्रेष्ठ तपस्या अर्को छैन । यसको निरन्तर अभ्यास गर्नाले ज्ञानको प्रकाश खुल्छ । जबसम्म ज्ञान हुँदैन तबसम्म देहमल नष्ट हुँदैन र ईश्वर साक्षात्कार पनि हुँदैनन् । प्राणको साधना नै सर्वोच्च ब्रह्म साधना हो । प्राचीन कालका ऋषिमुनिहरू यही साधना गर्दथे । प्राण स्थिर नभई ब्रह्म साक्षात्कार हुँदैन । क्रियायोग साधनाले प्राणस्थिर गर्न र एकाग्र हुन सिकाउँछ । गीतामा भगवान् कृष्णले अर्जुनलाई यही क्रियायोगको सन्दर्भमा बताउनु भएको हो ।

आधुनिक युगमा महावतार बाबाजीले लाहिडी महाशयलाई त्यही क्रियायोगको दीक्षा दिनुभएको हो । कलिकालमा प्रायः लुप्त हुँदै गएको यो दीक्षा प्रक्रिया लाहिडी महाशयबाट जनमानसमा प्रचार प्रसारमा आएको हो । परमहंस योगानन्दले यस योगलाई विश्वव्यापी रूपमा प्रचार गरे । उनले स्थापना गरेको संस्थामार्फत क्रियायोगको प्रचारप्रसार एवं दीक्षा दिने कार्य भइरहेको छ । यस्तै यस किसिमको दीक्षा अन्य सद्गुरुहरूले पनि आफ्नो प्रिय शिष्यलाई दिने गरेका छन् । 

क्रियायोगको महत्वबारे परमहंस योगानन्दले आफ्नो पुस्तकमा विषद् वर्णन गरेका छन् । क्रियायोगको अभ्यास सन्दर्भमा यसो भनिएको छ, दिनमा एक हजार पटक क्रियायोग गरेमा, एक दिनमा एकहजार वर्षको स्वाभाविक साधना गरेको फल मिल्छ । यही हिसाबले एक वर्षसम्म क्रियायोग साधना गर्नाले लाखौँ वर्ष आध्यात्मिक साधना गरेका पुण्य मिल्छ । 

एक क्रिया अर्थात् प्राणायाम गर्न सामान्यतः ३० सेकेन्ड लाग्छ । अतः ३० सेकेन्डमा गरिएको साधनाको परिणाम एक वर्षसम्म गरिएको अन्य तीर्थ, व्रत, दानलगायतको साधना बराबर हुन्छ । यसरी साधकले ४० वर्षसम्म निष्ठापूर्वक क्रियायोग साधना गर्ने अवसर प्राप्त गरेमा उसले लाखौँ वर्ष बराबरको साधना गरेको फल मिल्छ । यसरी क्रियायोगको अभ्यास लामो समयसम्म गर्नाले ऊ भित्रको विक्षेप वा मल दोष नाश हुन्छ । यसबाट सञ्चित कर्म वा प्रारब्ध कर्म पनि क्षय हुन्छ । यसले गर्दा जीवले धेरै जन्म लिनुपर्ने बाध्यता रहँदैन । यदि यही जन्ममा मुक्त हुन नसकेमा अर्को जन्ममा पनि उसले क्रियायोगको साधना गर्छ र मुक्त हुन्छ ।

आधुनिक कालमा क्रियायोगलाई पुनर्जीवन दिने काम महावतार बाबाले गरेको भनिन्छ । महावतार बाबा अजर अमर छन् भनिएको छ । उनले आदि शङ्कराचार्यलाई पनि क्रियायोग दीक्षा प्रदान गरेका थिए । क्रियायोगको साधना अत्यन्त सरल र वैज्ञानिक विधि हो । यो साधनाबाट आत्म कल्याण हुन्छ भन्ने कुरामा सन्देह छैन ।

हिजोआज विश्वव्यापी रूपमा योगप्रति चासो बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घले योगको महत्व बुझेर यसको प्रचारप्रसार गर्नका लागि जुन २१ तारिखलाई योग दिवसका रूपमा मनाउन आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको छ । पश्चिमका वैज्ञानिक तथा अनुसन्धानकर्ताले समेत योगबाट शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ भन्ने अभिव्यक्ति दिएपछि हाल कतिपय अस्पतालमा योग चिकित्सा कक्षसमेत स्थापना गरिएक छन् । कतिपय उद्योगमा कार्यरत कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि होस् भन्ने दृष्टिले उनीहरूलाई योगको प्रशिक्षण दिनुका साथै योगाभ्यास गर्ने व्यवस्था मिलाइएको पाइन्छ ।

योगको व्यापक मात्रामा प्रचारप्रसार भए पनि धरैको धारणामा योग भनेको शारीरिक तन्दुरस्ती राख्ने अभ्यास हो भन्ने बुझ्ने गरेको पाइन्छ । शारीरिक स्वास्थ्य योगको एक पक्ष भए पनि यसको मूल उद्देश्य भनेको मानिसको सर्वाङ्गीण विकास अर्थात् शारीरिक सुस्वस्थ, मानसिक सन्तुलन, र बौद्धिक विकास गर्दै परमात्मासँग सम्बन्ध स्थापना गर्नु हो ।

हाम्रो आध्यात्मिक साधनामा नाडीको ठुलो महत्व रहेको छ । यस्तै गरी षड्चक्रको पनि महत्व छ । भनिन्छ जबसम्म हाम्रो प्राण सुषुम्णा नाडीबाट प्रवाहित हुँदैन तबसम्म हाम्रो साधनाको विकास हुँदैन । सुषुम्णा नाडीबाट प्राण प्रवाहित भएमा षड्चक्र जागृत हुन्छ । षड्चव्रm जागृत भएमा कुण्डलिनी शक्ति जागृत हुन्छ । क्रियायोगको साधनाबाट हाम्रो प्राण सुषुम्णा नाडीबाट प्रवाहित गरिन्छ । यसरी कुण्डलनी शक्ति जागृत गराउने एक सशक्त माध्यम क्रियायोग हो । क्रियायोगको माध्यमबाट आत्मसाक्षात्कार हुन्छ । त्यसैले अत्यन्त सरल, छिटो र प्रभावकारी साधना क्रिया योग हो भन्नु अत्युक्ति नहोला । 

ध्यानका सबै विधिमा सर्वोच्च विधि हो– क्रियायोग । यसले शरीरमा प्राणशक्तिको सूक्ष्म प्रवाहलाई शक्तिशाली एवं ऊर्जाशील बनाउँछ । व्यक्तिको चेतनाले उच्च स्तरको ज्ञानलाई प्राप्त गर्छ, जसको कारण सुस्तसुस्त रूपमा आन्तरिक चेतनाको स्तर जागृतिको अवस्था आउँछ । क्रियायोगको अभ्यासद्वारा प्राप्त हुने सुनिश्चित एवं क्रमानुगत परिणामका सम्बन्धमा परमहंस योगानन्दले भनेका छन्– यो गणितको जस्तो शैलीमा कार्य गर्ने गर्दछ; यसको परिणाम सुनिश्चित छ । 

योगमा पारङ्गत र सिद्धता पाएका उच्च स्तरका गुरुले आआफ्ना केन्द्रमार्फत विश्वका विभिन्न देशमा क्रियायोग साधना दीक्षाका कार्यक्रम सञ्चालन गरी रहेका छन् । आध्यात्मिक साधनाको महत्वपूर्ण पाटो क्रियायोगलाई जीवन चर्याको रूपमा प्रयोग गर्न सकेमा साधकले जीवनमुक्ति पाउन सक्छ । क्रियायोग भन्न सजिलो छ तर साधना गरी जीवन चरित्रमा ल्याउन बहुतै मुस्किल छ तर जीवनलाई शुद्ध र बुद्ध बनाई मुक्तिको मार्ग अपनाउने हो भने क्रियायोग नगरी सुखै छैन । यस्तो क्रिया अर्थात् कर्म गर्नु जसले जीवलाई मुक्ति प्रदान गर्छ । त्यसैले यो मानव जीवनलाई क्रियायोगको माध्यमबाट सफलतातिर उन्मुख गराई मुक्ति र स्वतन्त्रताको उच्चतम स्थितिमा पुर्‍याउनु पर्छ । यही नै मानव जीवनको चरम लक्ष्य तथा उद्देश्य हो ।