• १९ असोज २०८१, शनिबार

तान्त्रिक नृत्य झिझियामा झुम्दै मधेश

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असोज १९ गते । 

तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनेलियै हो

ब्रह्मबाबा झिझिया पर होइयो ना सबार

महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँ तथा टोल टोलमा झिझिया नृत्य सुरु भएको छ । मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया दसैँसँगै सुरुवात गर्ने गरिन्छ । 

जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न बजार, हाट तथा टोलमा साँझ नपर्दै महिलाको टोली झिझिया नृत्य र गीतसँगै झुम्मिन्छन् । स्थानीय कुँवरकान्त झाका अनुसार गीतको लय र विशुद्ध तान्त्रिक विधिमा आधारित झिझिया नृत्यले गाउँघर दसैँमय हुन्छ । 

घटस्थापनाअघि नै माटोको घैँटो ल्याई त्यसमा अनगन्ती प्वाल पारी दसैँको सुरुवातसँगै समूह समूहमा घैँटोमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्छन् । मिथिलाञ्चलमा व्याप्त बोक्सीप्रति तिखो व्यङ्ग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाले बत्ती बालेको घैँटो टाउकोमा राखी नाच्दै, गीत गाउँदै गाउँघर परिक्रमा गर्छन् । तिनीहरू जसको घरमा जान्छन् घरधनीले मटितेल वा रकम दिने परम्परा रहिआएको जलेश्वरका युवा पङ्कज पासमानले जानकारी दिनुभयो । उहाँले परापूर्वकालदेखि चल्दै आएको परम्परागत झिझिया नृत्यलाई बचाउन सबैको भूमिका हुनुपर्ने बताउनुभयो ।

चलचल गे डैनिया कदम तर

तोरा बेटाके खैबौ बढमतर..

नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैँटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैँटो बोकी नाच्ने र गाउने महिला फनफनी नाचिरहेकी हुन्छे । ती नृत्य नै झिझियाको प्रमुख विशेषताका रूपमा रहेको मानिन्छ । 

झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिलाञ्चलमा झिझिया नृत्यलाई बचाउन प्रतियोगिताका रूपमा समेत लग्दै गरेको अवस्था छ । जिल्लाको गौशालामा रहेको एफएम रेडियोले हरेक वर्ष झिझिया नृत्य प्रतियोगिता आयोजना गरेर यसको संरक्षण गर्दै आएको गौशालाका समाजसेवी राजनारायण चौधरीले जानकारी दिनुभयो ।