• १९ असोज २०८१, शनिबार

ठुला सवारीसाधन सञ्चालनमा रोक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । बाढीपहिरोले भत्काएको सडक त्यसमाथि दसैँमा हुने सवारीसाधनको अत्यधिक चापलाई ध्यानमा राखी नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरसहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । ट्राफिक व्यवस्थापन गरी जोखिमपूर्ण यात्रालाई सहज बनाउन ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

यातायात व्यवस्था विभागले घटस्थापनादेखि कात्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यात्रुवाहकलाई प्राथमिकता दिने गरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताउनुभयो । औषधी र तरकारी ढुवानी गर्ने अन्य ठुला सवारी कात्तिक १ गतेसम्म बन्द गरिएको छ । 

बिपी राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । सडक पूर्ण रूपमा मर्मत भइनसकेको हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । काठमाडौँ भित्रिने कुनै पनि सवारीसाधन समयमा पुग्न नसकेको अध्यक्ष विजय स्वाँरले बताउनुभयो ।