• १८ असोज २०८१, शुक्रबार

स्वास्थ्य क्षेत्र सुधार हुनेगरी काम गर्न मन्त्री सिंहको निर्देशन

blog

वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थमन्त्री शत्रुधनप्रसाद सिंह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असोज १८ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि रहेको मधेश स्वास्थ्य क्षेत्रका विभिन्न इन्डिकेटरमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । 

धनुषाको सपहीमा आयोजित आर्थिक वर्ष २०८०–८१ को सञ्चालित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उदघाटनगर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । 

उहाँले स्वास्थ्य क्षेत्रमा अझ पनि गरिब जनताको पहुँच हुन नसकेको भन्दै स्वास्थ्यसम्बन्धि प्रदान गरिने सेवामा गरिव जनताको पहुँच हुने किसिमले मन्त्रालयले कार्यक्रम तयार पारेको र त्यस्ता कार्यक्रमहरु कार्यान्वय इमान्दारितासाथ गर्न निर्देशन दिनुभयो । 

अहिले बाढी पहिरोको समय भएको र यस समयमा विभिन्न खालका संक्रामक रोगहरु देखा पर्ने सम्भावना रहेकाले प्रदेशस्तरमा हामी सबै पूर्व तयारी अवस्थामा बस्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भर्खरको बाढी पहिरोबाट घाइते भएकाको उपचारमा प्रदेश स्तरबाट हुन सक्ने सहयोगमा कुनै प्रकारको कमी नहुन दिनका लागि अस्पतालका निर्देशकलाई आग्रह गर्नुभयो । 

उहाँले कर्मचारी सरुवा नियमित प्रक्रिया भएकाले मन्त्रालयले गरेको सरुवाको सहजरुपमा स्वीकार गर्नका लागि सबैमा अपिल गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले वार्षिक समिक्षाको क्रममा सुधार गर्न आएका विषय वस्तुलाई अगामी दिनमा सुधार गर्ने किसिमले कार्यक्रमहरु तयार पार्नुपर्ने धारणा राख्नुभयो । 

मधेश प्रदेशका स्वास्थ्य सचिव डा. सञ्जय ठाकुरले यस वार्षिक समिक्षामा प्रदेशका जनताले भोगिरहेका रोगबाट उन्मुक्तिका लागि के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रुपमा छलफल गरी अपेक्षित सुधार हुने किसिमको सुझावहरु मन्त्रालयलाई दिन आग्रह गर्नुभयो । 

जनचेतनाको अभावमा मान्छेलाई विभिन्नखालको रोगहरु लाग्ने गरेकाले जगेर्ना गर्ने काममा पनि स्वास्थ्यकर्मीको ठुलो भूमिका हुने भएकाले आफनो भूमिका निर्वाह गर्नका लागि स्वास्थयकर्मीलाई निर्देशन दिनुभयो । 

जिल्ला स्वास्थ कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन पण्डित, कुष्टरोग अस्पताल लालगढका प्रमुख कृष्णबहादुर तामाङसहितले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका इन्डिकेटर सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।