• १८ असोज २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकको ६ स्थानीय तह अन्धकारमा

blog

तेमाल गाउँपालिका –८ स्थित जनज्योती माविमा रहेको सोलार चार्जमा राखिएको मोबाइल । तस्विर सौजन्यः डिलबहादुर थोकर

केदार तिमल्सिना 

बनेपा, असोज १८ गते । अबिरल वर्षासँगै आएको बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोकको ६ वटा स्थानीय तह पूर्णरुपमा अन्धकार बनेका छन् । बाढी, पहिरोका कारण अधिकांश स्थानमा विद्युतको ट्रान्सफर्मर, विद्युत पोल र तारमा क्षति पुगेपछि जिल्लाको धेरै स्थानमा विद्युत सेवा ठप्प भएको हो ।

बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय विद्युत सेवा पूर्ण रुपमा ठप्प छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन तथा जिल्लाका विभिन्न स्थानमा रहेका लघु जलविद्युत आयोजनामा समेत बाढीले क्षति गरेपछि लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतसमेत रोकिएको छ ।  जिल्लाका १३ वटा स्थानीय तहमध्ये महाभारत गाउँपालिका, रोसी गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिकाका हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । 

बाढी, पहिरोका कारण गाउँमा विद्युत सेवाबाट बञ्चित भएका बाढी, पहिरोबाट पीडित नागरिक आफ्ना आफन्तसँगको सम्पर्कमा रहन सोलारबाट मोबाइल चार्ज गर्नका लागि वडा कार्यालय र सामुदायिक विद्यालयमा भीड लाग्ने गरेको छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले वर्षासँगै आएको बाढी, पहिरोका कारण विद्युतकाे पोल, ट्रान्सफर्मरमा क्षति पुगेका कारण पूरै गाउँपालिका अन्धकारमा रहेको बताउनुभयो । 

जिल्लाको खानीखोला गाउँपालिकाका स्थानीयबासी राजन अधिकारीले बाढी, पहिरोका कारण विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनका साथै पालिकाभित्र रहेका दुई वटा जलविद्युत आयोजनामा क्षति पुगेका कारण गाउँपालिका पूरै अन्धकार भएको बताउनुभयो । 

विद्युत सेवा नभएका कारण नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन्, वडा कार्यालय, विद्यालयमा रहेको सोलारका साथै जेनेरेटरबाट मोबाइल चार्ज गर्ने गरिएको छ” उहाँले भन्नुभयो । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपाका प्रमुख ई. अमृत अधिकारीले बाढी, पहिरोका कारण ठप्प भएको बिद्युत सेवा सुचारु गर्न नौ वटा समूहमा करिब ८० जना कामदार परिचालन गरिएको बताउनुभयो ।

उहाँले बाढी, पहिरोका कारण रोसी गाउँपालिका, बेथानचोक गाउँपालिकामा धेरै क्षति भएको बताउँदै उक्त गाउँपालिकामा नयाँ प्रणाली नै निर्माण गर्नुपर्ने बताउनुभयो । “बिपी राजमार्ग हुँदै रोसी गाउँपालिकामा विद्युत लगिएको हुनाले पहिरोका कारण राजमार्गमा क्षति भएका कारण राजमार्ग मर्मत नभएसम्म रोसीमा विद्युत लैजान गाह्रो छ भने बेथानचोकमा रहेको संरचनाहरु सबै नष्ट भएकाले त्यहाँ पूरै नयाँ संरचना बनाउनुपर्नेछ” ई.अधिकारीले थप्नुभयो । 

उहाँले महाभारतमा उतैबाट काम सुरु गरिएको र खानीखोलामा बागमती नदीले हाइटेन्सन लाइनको पोल बगाएकाले सडक नबनेसम्म पोल लैजान सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले बाढीपछि बिग्रिएको विद्युत सेवा सुचारु गर्न करिब २५ सय पोल, २५ वटा ट्रान्सफर्मर र करिब ८० किलोमिटर तार परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

उहाँले दशैँअघि विद्युत पुगाउने लक्ष्य लिएको बताउँदै छरिएको बस्ती र संरचना भएकाले काम गर्न कठिनाइ भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख ई. सुनिल सापकोटाले दसैँअघि केन्द्र अन्तर्गतका घरमा विद्युत सुचारु गर्ने गरी काम गरिरहेको बताउनुभयो । 

उहाँले तेमाल, चौरीदेउरालीमा सडक क्षति भएकाले सडक सुचारु नभएसम्म काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । बाढीका कारण बढी क्षति भएको पनौती नगरपालिका –१२, वडा नम्बर –११ लगायतका केही स्थान, धुलिखेल नगरपालिकाको बडालगाउँ, एक्लेखेत, बनेपाका केही स्थान, भुम्लु गाउँपालिकाका धेरै स्थान, नमोबुद्धको नमोबुद्ध, श्यामपाटी लगायतका स्थानमा अझ पनि विद्युत सुचारु भएको छैन ।