• १८ असोज २०८१, शुक्रबार

नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल शुक्रबार पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पाटन अस्पताल अवलोकनका क्रममा । तस्बिरः माधवप्रसाद घिमिरे/रासस

ललितपुर, असोज १८ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिनुभएको छ। 

प्रतिष्ठानको शुक्रबार निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो। “यहाँको सेवा तुलनात्मक रुपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ”, उहाँले भन्नुभयो।

प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गर्नुभयो। “अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो। अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताउनुभयो। 

निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेशनाथ गङ्गोलले स्वागत गर्नुभएको थियो। आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लख गर्दै उहाँले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेलसमक्ष आग्रह गर्नुभयो। सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिनुभयो। 

मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो। प्रतिष्ठानका रजिष्टार डा. पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो।रासस