• १८ असोज २०८१, शुक्रबार

पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

सडक अवरुद्ध भएपछि हलेसीमा रोकिएका सवारीसाधन

राजकुमार भट्टराई 

खोटाङ, असोज १८ गते । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् । 

इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी–तुवाचुङ नगरपालिका –१ बाहुनीडाँडाको कदुवा र लाँकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

अहिले नगरपालिकाको जेसिभी प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । 

दसैंका लागि खोटाङ भित्रिंदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातिदेखि अलपत्र परेका छन् । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंका लागि गएका सवारी साधन पनि बाटैमा अलपत्र छन् । 

आज साँझसम्म पहिरो पन्छाएर सडक सुचारु गराइने इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो ।