• १८ असोज २०८१, शुक्रबार

स्कूल बसको ठक्करबाट बालकको मृत्यु

blog

नाबालकलाई ठक्कर दिएको बस ।

बोमलाल गिरी

नवलपुर, असोज १८ गते । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोक जाँदै गरेको गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर दिँदा कावासोती १ छहारी चोक निवासी यम पौडेलका २२ महिने छोरा सम्राटको मृत्यु भएको हो । 

बसले बालबालिकालाई विद्यालय पुर्‍याउँदै गर्दा सडकमा खेली रहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा छ ।  

त्यसैगरी गएराति मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा. प्र. ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना ३८ प ७९१६ नम्बरको स्कुटर पुरानो कावासोतीमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् । 

दुर्घटनामा परी मोटरसाइकल चालक बाँके खजुरा २ निवासी २७ वर्षीया सन्जु विक, स्कुटर चालक कावासोती १४ त्रिभुवनटार निवासी ४० वर्षीया राधा महतो र स्कुटी पछाडि सवार २९ वर्षीया जमुना थापा घाइते भएका हुन् । उनीहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।