• १८ असोज २०८१, शुक्रबार

पोखरामा 'हट एयर बेलुन' उडान सुरु

blog

फाइल तस्बिर ।

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १८ गते । पर्यटन राजधानी पोखरामा मनसुनका कारण रोकिएको 'हट एयर बेलुन' उडान सुरु भएको छ । लेकसाइडभन्दा माथि पामेबाट उडान सुरु भएको हो।

बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले मनसुनका कारण राकिएको उडान यसै साता फेरि सुरु भएको जानकारी दिनुभयो । बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाउने गरिएको छ । “बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुन्छ,” अध्यक्ष बाडेले भन्नुभयो ।

कम्पनीले ९ एन–एएमडब्लु कलसाइनको बेलुनमा पाइलटबाहेक आठ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलटबाहेक १२ यात्रुलाई उडाउने गरेको छ। बेलुनमा उड्नका लागि नेपालीलाई ११ हजार, सार्क मुलुकका पर्यटकका लागि एक सय २० डलर र अन्य मुलुकका नागरिकलाई एक सय ५० डलर शुल्क लाग्छ ।

यो शुल्कमा उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात, फोटो, भिडियो र प्रमाणपत्रसमेत उपलब्ध गराइन्छ । बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ । 

साहसिक पर्यटकले मन पराउने बेलुन नौ हजार फिटमाथिसम्म पुग्छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, फेवातालसहित पोखरा र आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

कम्पनीसँग अहिले दुई वटा बेलुन छन् । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले पाइलटका रुपमा काम गरिरहनुभएको छ । बेलुन नेपालले यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्दै छ ।