• १० मंसिर २०८१, सोमबार

विश्वासको आधारशिला

blog

मानिसलाई लाग्ला विश्वास गर्नु, त्यो पनि आँखा चिम्लिएरै । सुन्दा नै पनि अनौठो लाग्छ तर प्रश्न छ– यस्तो मामिलामा कदाचित् विश्वास नगर्नुको अर्को विकल्प के हुन सक्छ ? एक हिसाबले सोच्न पनि सकिन्छ, त्यसो भए के यो बाध्यता हो ?

बजारमा यत्रतत्र विश्वासको सङ्कट छ । कसैमाथि विश्वास गरिहाल्ने समय अब रहेन । विशेष गरेर एकले अर्कालाई गर्ने गरेको ठगीको विषयमा आज सर्वत्र चर्चा परिचर्चा हुने गरेको छ । मूलतः ‘सहकारी ठगी’ को विषयले राष्ट्रियस्तरमै ठुलो ठाउँ बनाएको छ । त्यसो त ठगी भन्नासाथ आर्थिक मामलाको हो भन्ने नै बुझिहालिन्छ तर त्यसको अन्तर्य खोज्ने हो भने ठगी भन्ने शब्दको उच्चारण हुनासाथ त्यहाँ ‘अविश्वास’ जोडिएर आइहाल्छ । अर्थात् विश्वासको सङ्कट । इतिहासको एउटा उदाहरणबाट यसलाई प्रस्ट पार्न सकिन्छ । राणाकालमा सत्ताधारीबिच आपसमै भयङ्कर अविश्वास थियो । सत्तामा बस्नेको मनमा कतिबेला कुन सड्को कसले सत्ताबाट अपदस्थ गर्देला भन्ने डरले सधैँ डेरा जमाइरहेको हुन्थ्यो । यतिसम्म कि बिहानीको नित्यकर्म गर्ने समयमै पनि त्यो डर लिएर ब्युँझनु पथ्र्यो ।  

यसभन्दा अझ समसामयिक एउटा उदाहरण हेरौँ–

बिस्कुन भन्ने एउटा बहुप्रचलित शब्द छ नेपालमा । सहरबजारमा त होइन, खास गरेर गाउँघरमा यो शब्द बढी चल्ने गर्छ । अझ भनौँ, गाउँघरमा यसको प्रयोग नै हुन्छ । तथापि हिजोआज यसको प्रचलन व्रmमशः लोप हुँदै गइरहेको देखिन्छ । वास्तवमा बिस्कुन सुकाउने प्रचलन कहिलेदेखि चलेको थियो कुन्नि ! राजा हरिश्चन्द्रका पालामा पनि बिस्कुन सुकाउने प्रचलन थियो भनिन्छ । हामीले देखेर भोगेर आएकै छौँ, चराचुरुङ्गीले खाइदेलान् वा कसैले चोरी नगरून् भन्ने ध्येयका साथ बिस्कुन सुकाउने व्यक्ति बिस्कुनको छेउमै एउटा लट््ठी लिएर बस्छन् । त्यसरी नै हरिश्चन्द्रको पालामा पनि बस्थे रे तर त्यसरी बस्नुको अभिप्राय नितान्त भिन्नै थियो भन्ने बुझाइ छ । आजको परिवेशमा सुकाइएको बिस्कुनको मात्रा घट्ला भन्ने डर छ तर त्यसबेला बिस्कुनको छेउमा लट्ठी लिएर बस्नुको उद्देश्य हुन्थ्यो, त्यो बिस्कुनमा अरू कसैले ल्याएर बढी अन्न नथपिदिऊन् । त्यसको अर्थ के थियो भने दोस्रो मान्छेसँग सित्तैमा केही पनि लिएर पापको भारी बोक्नुहुन्न तर त्यतिखेरका मानिसको मनमा पनि दुष्ट्याइँ प्रवृत्ति रहेको हुँदोरहेछ, दोस्रो व्यक्तिमाथि पापको बोझ थोपरिदिने ।

विषय त्यही हो बिस्कुन तर वातावरणमा आकाश जमिनको भिन्नता । बिस्कुन आज पनि सुकाइन्छ, बिस्कुन सुकाउनेको हातमा सानो लट्ठीका साथ मनमा त्रास पनि छ । विडम्बना ! तर त्यो त्रासको परिवेश भिन्नै । त्यो बेला बिस्कुनमा अन्न बढ्ला कि भन्ने त्रास, आज बिस्कुन घट्ला कि भन्ने त्रास ।

त्रासको बनावट जस्तोसुकै होस् तर यो प्रस्ट छ– समाजमा विश्वासको सङ्कट छ । व्यक्ति आफू जस्तो ठान्छ आफूलाई, त्यस्तै प्रवृत्ति दोस्रोमा पनि खोज्छ । जबकि सोचे जस्तो त्यस्तो पाउँदैन उसले । यसको अर्थ, दोस्रो व्यक्तिमाथि उसको विश्वास नरहेको बुझिन्छ । साँच्चै भन्ने हो भने समाजमा विश्वास पूर्णतः हराइसकेको मान्नेहरूले अब विश्वास जगाउने कुनै पनि अस्त्र बाँकी नरहेको ठान्नु स्वाभाविक छ । 

यस अवस्थामा पनि कहीँकतै छेउकुनोमा विश्वास गरिने आधार कतै जीवित रहेका छन् कि ? यो प्रश्नको जवाफ खोज्दै जाँदा एउटा नितान्त व्यक्तिगत एउटा तथ्यलाई प्रस्तुत गर्नु प्रासङ्गिक हुन सक्छ । 

विसं २०४० को हाराहारीको कुरो हो । आज चार दशक पार भइसकेछ । त्यतिखेर दुई रुपियाँ माना गाईको दुध पाइन्थ्यो । त्यो पनि आफैँले पालेको गाईबाट दुहिएको दुध ‘होम डेलिभरी’ । त्यतिखेर भक्तपुर ठिमीबाट जसले दुध ल्याउने गरेका थिए, आजको समयमा पनि मैले त्यहीँबाट ल्याइने दुध खाइरहेको छु, प्रतिलिटर १२० रुपियाँमा । दुधवाला फेरिए, गाई पनि फेरियो होला तर दुध उनकै घरबाट आउने गर्छ । त्यस समयका व्यक्ति उमेरका कारण आउन सक्दैनन् । उनका सट्टा उनका छोराले लिएर आउँछन् । अझ कहिलेकाहीँ बुहारी र कहिले नाति आउँछन् । 

अब यहाँ मूल प्रश्न छ विश्वासको । त्यसबेलादेखि एकै घर एकै परिवारबाट ल्याइने गरेको दुधको गुणस्तरीयताप्रति विश्वासको प्रतिशत कति होला ? यस मामिलामा यो घरमा ल्याइने गरेको दुधप्रति यी तीनै पुस्तासँग मेरो परिवारले कहिल्यै पनि प्रश्न उठाएन । दुधप्रति कहिल्यै आशङ्का गरिएन । किनकि दुधवालाप्रति पूर्णतः विश्वास थियो र छँदै छ । वास्तवमा विश्वासको आधार मान्छेको व्रिmयाकलापबाटै तय भएको हुँदो रहेछ । दुधवालाले कहिल्यै लप्पनछप्पन गरेको थाहा पाइएन । खासमा दुधमा प्रायः मिसावटको कुरो आउने हो । त्यस्तो कहिल्यै पनि महसुस नै भएन । यदाकदा दुध फाट्यो भने वा अलिक पातलो लाग्यो भने त्यसको स्पष्टीकरणका लागि त्यताबाट कुनै बहाना नखोजी त्यसको खास कारण भोलिपल्टै बताइहालिन्छ । वास्तवमा त्यस्तो खालको अवस्था कहिल्यै पनि आएन नै । त्यसको कारण एउटै थियो बर्सौंदेखिको विश्वास, जो कायम रहिआएको छ ।

मान्छेहरूलाई लाग्ला विश्वास गर्नु, त्यो पनि आँखा चिम्लिएरै । सुन्दा नै पनि अनौठो लाग्छ तर प्रश्न छ– यस्तो मामिलामा कदाचित् विश्वास नगर्नुको अर्को विकल्प के हुन सक्छ ? एक हिसाबले सोच्न पनि सकिन्छ, त्यसो भए के यो बाध्यता हो ? सम्भवतः दैनिक उपभोग्य विषयमा यसलाई बाध्यता मान्न सकिएला तर त्यो बाध्यताभन्दा बढी स्वाभाविकता हो । हुन पनि कतिपय विषय यस्ता हुन्छन् र जुन विषयसँग जोडिएको मानवीय पक्षमाथि प्रश्न उठाइरहनुको कुनै औचित्य हुन्न । कदाचित् त्यस्तो प्रश्न उठाइने हो भने समाज भन्ने अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना बढ्छ । के सहरबजारमा पाइपलाइनबाट आउने पानी अथवा हामीले घर भित्रायाउने गरेका पानीका जार वा खुला रूपमा खरिद गर्ने खाद्यान्न, तरकारीमाथि विश्वासको प्रश्न खडा गर्न सकिन्छ ? कदापि सकिन्न । 

प्रस्ट छ– प्रश्न नउठाइनुको कारणले नै समाजको दैनिकी चलेको हुन्छ, चलेको छ । दोहो¥याउँ, समाजको दैनिकी नै आधार विश्वासको जगमा अडिएको हुन्छ । यति चाहिँ ख्याल राख्नै पर्छ, विश्वासको पछाडि सचेतता भने राखिनु अपरिहार्य छ  ।  

Author

विमल भौकाजी