• २१ कात्तिक २०८१, बुधबार

माचु पिचुः विश्वको सातौँ आश्चर्य

blog

दक्षिण अमेरिकी राष्ट्र पेरुमा अवस्थित ‘माचु पिचु’ विश्वको सातौँ आश्चर्य मानिन्छ । ‘इन्काहरूको हराएको शहर’ नामले समेत परिचित माचु पिचु विश्वभरका इतिहासकार, पुरातत्वप्रेमी एवं पर्यटकको गन्तव्य बन्ने गरेको छ । 

पेरुको एन्डिज पर्वतमालामा अवस्थित यो प्राचीन धरोहर इन्का सभ्यताको अद्वितीय इन्जिनियरिङ र सांस्कृतिक नमुनाको प्रतीकका रूपमा रहेको छ । पहाडमाथिको खण्डहर माचु पिचु इन्का शासकहरूको शासनकालको  इतिहास, वास्तुकला र धरोहरको साक्षी हो । 

माचु पिचु र हुआयना पिचु नामक दुई पहाडी टाकुराबीचको साँघुरो काखमा बसेको माचु पिचु पेरुको कुज्को शहरबाट ८० किलोमिटर उत्तरपश्चिम एन्डिज पर्वतको कोर्डिलेरा दे भिल्काबाम्बामा रहेको छ । पेरुको राजधानी लिमादेखि ५०३ किलोमिटर टाढा रहेको माचु पिचु उरुबाम्बा प्रान्तको माचु पिचु जिल्ला पर्दछ । 

समुद्र सतहबाट दुई हजार ४३० मिटर उचाइमा रहेको माचु पिचु पेरुको इन्का शासकहरूको शासनकालमा विकसित सभ्यताको प्रतीक मानिएको छ । माचु पिचुको तल उरुबाम्बा नदी बग्दछ । 

निर्माणकाल

माचु पिचुको निर्माण पेरुका इन्का शासकको शासनकालमा भएको थियो । इन्का शासक पाचाकुटी इन्का युपान्कीले माचु पिचुलाई आफ्नो निवासस्थान र धार्मिक केन्द्रका रूपमा निर्माण गरेका थिए । अमेरिकी मानवशास्त्री प्रा. रिचार्ड एल. बर्गरका अनुसार माचु पिचुको निर्माण सन् १४५० ताका भएको थियो ।

सन् २०२१ मा रेडियो कार्बनडेटिङका आधारमा भएको अध्ययनले माचु पिचुमा सन् १४२०–१५३० सम्म मानव बसोबास रहेको देखाएको छ । उक्त अध्ययनले माचु पिचुको निर्माण इन्का शासक पचाकुतेक इन्का युपान्की (सन् १४३८–१४७१) र टुपाक इन्का युपान्की (सन् १४७२–१४९३) पालामा भएको स्पष्ट पारेको छ । 

पचाकुतेकले आफ्नो निजी प्रयोजनका लागि माचु पिचु किल्ला बनाएका थिए । त्यसैले माचु पिचु ‘शाही’ सम्पत्तिका रूपमा रहेको थियो । तथापि यसको कुनै उत्तराधिकारी भने थिएन । स्पेनीहरूको आक्रमणपछि इन्का साम्राज्यको अन्त्य हुनुका साथै माचु पिचु पनि निर्जन बन्न पुग्यो ।

माचु पिचुको निर्माणमा प्रयोग भएको कला र इन्जिनियरिङ विधालाई इन्काहरूको अद्वितीय क्षमताको प्रमाण मानिएको छ । इन्काहरूले विकट पहाडी भूभागमा यतिसम्मको अत्याधुनिक संरचना निर्माण गरेर वर्तमान इन्जिनियरिङ विधालाई समेत चुनौती दिएका छन् । 

तर एक शताब्दी नबित्दै स्पेनी साम्राज्यवादीहरूको विजयसँगै यो स्थान खण्डहर बन्न पुग्यो । केही इतिहासकार भने स्पेनी आक्रमणअघि नै बिफर महामारीका कारण माचु पिचुको बस्ती विस्थापन भएको थियो भन्ने मान्यता राख्छन् । 

नामकरण

पेरुको स्थानीय केचुवा भाषामा ‘माचु’ को अर्थ ‘पुरानो’ वा ‘प्रौढ’ तथा ‘हुआयना’ को अर्थ ‘जवान’ भन्ने हुन्छ । ‘पिचु’ ले ‘शिखर’, ‘चुचुरा’ वा ‘पिरामिड’ भन्ने जनाउँद छ । सोही कारण यस स्थानको नाम ‘पुरानो पर्वत’ वा ‘पुरानो चुचुरो’ लाई बुझाउने गरी स्थानीय भाषामा माचु पिचु भनिएको हो । 

यद्यपि इन्का शासनकालमा माचु पिचुको नाम के थियो भन्ने हालसम्म अज्ञात नै छ तर अध्ययनले त्यतिबेला यस स्थानलाई ‘हुआयना पिचु’ तथा ‘पिचु’ मात्रै भनेर चिनिन्थ्यो भन्ने निष्कर्ष निकालेको छ । यस क्षेत्रको खण्डहरको अध्ययनका क्रममा सन् १९११ मा अमेरिकी अन्वेषक हाइराम विङ्घमको सोधखोजसँगै माचु पिचु नामकरण भएको मानिन्छ । 

अन्वेषण

१६ औँ शताब्दीको अन्त्यमा स्पेनीद्वारा विजित क्षेत्रमा ‘हुआयना पिचु’ पनि एक थियो । उक्त हुआयना पिचु भनेर उल्लिखित क्षेत्र माचु पिचु नै हो भन्नेमा इतिहास एकमत छ । स्पेनी सैन्य प्रमुख कार्ता बाल्तासार डे ओकाम्पोले १६ औँ शताब्दीको अन्त्यतिर पेरुको पिटकोस नामक एक पर्वतीय किल्लाको भ्रमणपछिको आफ्नो डायरीमा टिपेका लेखोटमा त्यहाँ निर्मित भव्य भवनहरू, कालिगडी आदिको चर्चा गरेका छन् । 

स्पेनीको आक्रमणपछिको चार सय वर्षसम्म माचु पिचु ओझेलमा पर्न गयो । शताब्दीयौँदेखि माचु पिचु र आसपासको क्षेत्र वनजङ्गलले ढाकिन पुग्यो । तथापि केही स्थानीय यस क्षेत्रबारे केही जानकार थिए । सोही कारण माचु पिचुलाई पछि सन् १८६७ मा एक जना जर्मन व्यवसायी अगस्टो बन्र्सले पुनः खोजेको र त्यहाँबाट केही पुरातात्त्विक सामग्री लिएका थिए । वन्र्सअघि एक जना अर्का जर्मन इन्जिनियर जेएम भोन ह्यासेल माचु पिचु पुगेको भनिन्छ । 

सन् १९११ मा अमेरिकी मानवशास्त्री हाइराम विङ्घम माचु पिचुको खोजमा जुटे । स्थानीय मेल्चोर आर्टेगासँगै उनी माचु पिचु पुगेका थिए । विङ्घमले त्यहाँ तीनझ्याले मन्दिरको एउटा पर्खालमा ‘अगस्टिन लिजारागा सन् १९०२’ लिखित कोइला देखे । विङ्घमले अगस्टिन लिजारागालाई नै माचु पिचुका खोजकर्ता भनेर आफ्नो डायरीमा लेखे । आफ्ना लेखमा पनि माचु पिचुको पहिलो खोजकर्ता भनेर लिजारागाकै नाम लिए तर विङ्घमले पछि ‘लस्ट सिटी अफ दी इन्कास’ (सन् १९५२) मा माचु पिचुको खोजकर्ता आफैँलाई घोषणा गरेका थिए । 


जनजीवन

माचु पिचुमा बसोबास गर्ने बासिन्दाको सङ्ख्या ७५० जति रहेको अनुमान गरिएको छ । जसमा धेरै जसो यानाकोना, याना (सहयोगी कर्मचारी) थिए । उनीहरू स्थायी रूपमा त्यहीँ बस्थे । शासक पचाकुतेक स्वामित्वमा रहेको माचु पिचुमा केही धार्मिक व्यक्ति, विशेषज्ञ र मायोक (अस्थायी श्रमिक) पनि त्यहाँ रहन्थे । उनीहरू इन्का शासकको सेवा सुविधामा खट्दथे । माचु पिचुमा प्राप्त मानिसका कङ्कालको अध्ययनले त्यहाँ बस्ने अधिकांश बासिन्दा बाहिरबाट आएको बुझिन्छ । आजीवन माचु पिचुमै बसेको सङ्केत गर्ने कुनै पनि रासायनिक र अस्थिपञ्जर प्रमाण नभेटिएका कारण उनीहरू बाहिरबाट गएर बसेको अध्ययनले पुष्टि गरेको थियो । 

भौतिक संरचना

माचु पिचुको वास्तुकला अद्वितीय छ । पहाडको माथिल्लो भूभागमा अवस्थित माचु पिचुमा निर्मित संरचना निर्माणमा ढुङ्गा प्रयोग गरिएको छ । विशाल ढुङ्गालाई जोडेर भवन, मन्दिर, सिँढी, गरा–कान्ला निर्माण गरिएका छन् । 

यस कारण माचु पिचु इन्का सभ्यताको उत्कृष्ट वास्तुकला र इन्जिनियरिङ कौशलको अद्वितीय नमुनाका रूपमा परिचित छ । यो स्थलमा १५० भन्दा बढी भवन छन् । जसमा मन्दिर, महल र आवासीय संरचना समावेश रहेको देखिन्छ । माचु पिचुका भवन पत्थरलाई जोडेर बनाइएका छन् र यी संरचनाको निर्माण सिस्साकार शैलीमा गरिएको छ । 

टाँसिने पदार्थको प्रयोग गरेर बनाइएका यी संरचना आजसम्म पनि स्थिर छन् । माचु पिचुका मुख्य संरचनामा इन्काहरूको धार्मिक तथा सांस्कृतिक आस्थासमेत प्रतिविम्बित हुन्छ । माचु पिचुको प्रमुख संरचनामध्ये एक हो ‘टेम्पल अफ दी सन’ अर्थात् सूर्य मन्दिर । जुन मन्दिरमा इन्काहरू सूर्य देवताको पूजा गर्थे । माचु पिचुमा रहेका अन्य संरचनामा इन्टिहुआतना, रुम अफ थ्री विन्डोज, स्यान्चुरी र कन्डोर टेम्पल प्रमुख हुन् । 

सूर्य मन्दिर

माचु पिचुमा निर्मित सूर्य मन्दिर एउटा प्राकृतिक गुफामा रहेको छ । माचु पिचुमा रहेको सूर्य मन्दिर एउटै यस्तो संरचना हो जो गोलाकार छ । मन्दिरमा झ्यालहरू, कक्षहरू र प्रवेश द्वार निर्माण गरिएको छ । केही इतिहासकार त्यहाँ इन्का सम्राट पचाकुतेकको ममी गाडिएको विश्वास गर्छन् । सूर्य अर्धवृत्ताकार सूर्य मन्दिर विङ्घहामको ‘शाही समाधिस्थल’ माथि रहेको चट्टानमा निर्मित छ । 

माचु पिचुमा रहेको सूर्य मन्दिर कुस्कोमा रहेको सूर्य मन्दिर र पिसाकमा अविस्थित मन्दिरसँग समानता राख्दछ । जुन मन्दिरलाई विङ्घहामले ‘प्याराबोलिक घेरबारको पर्खाल’ भनेर वर्णन गरेका छन् । यस मन्दिरको ढुङ्गे संरचना उत्कृष्ट गुणस्तरको छ । 

मन्दिरभित्र १.२ मिटर चौडाइ र २.७ मिटर लम्बाइको चट्टानको मञ्च छ । जसको माथिल्लो भाग चिल्लो छ । यसको दक्षिण पश्चिम भागमा सानो ‘पोडियम’ छ । त्यहाँ ‘सर्पको ढोका’ ३४० डिग्रीको कोणमा बनाइएको छ । यस मन्दिरमा दुई वटा ‘ट्रापेजोइडल’ आकारका झ्याल छन् । जसमा एउटा ६५ डिग्रीमा रहेको छ । उक्त झ्याललाई ‘सोल्स्टिस झ्याल’ भनिन्छ । अर्को १३२ डिग्रीमा रहेको झ्याललाई ‘कुल्का झ्याल’ भन्ने गरिएको छ ।  


इन्टिहुआतना

सूर्य मन्दिरपछि माचु पिचुको अर्को मुख्य आकर्षण हो इन्टिहुआतना नामक पवित्र ढुङ्गा । इन्टिहुआतना इन्काहरूले खगोलीय घडी वा पात्रोका रूपमा डिजाइन गरेको विश्वास गरिन्छ । इन्टिहुआतनाको प्रयोग सूर्यको गति मापन गर्न र वर्षभरिको समय निर्धारणमा गरिन्थ्यो । 

इन्टिहुआतनालाई ‘सूर्यलाई बाँध्ने ठाउँ’ भनेर पनि चिनिन्छ । इन्काहरूको धार्मिक परम्परामा सूर्यलाई अत्यन्तै महत्वपूर्ण देवता मानिन्थ्यो र उनीहरूले सूर्यको पूजा गर्न तथा खेतीपातीको समय निर्धारण गर्न इन्टिहुआतना प्रयोग गर्थे । 

इन्टिहुआतनाले खगोलीय घटनाहरू जस्तै सूर्यको अयन वृत्तको पहिचान गर्न मद्दत गथ्र्याे । जसले इन्काहरूलाई खेतीको सही समय निर्धारण गर्न सजिलो बनाउँथ्यो । यो ढुङ्गाले सूर्यका किरणको आधारमा छाया सिर्जना गथ्र्यो र त्यही छायाको माध्यमबाट समयको पहिचान गरिन्थ्यो । 

इन्टिहुआतना केवल खगोलीय यन्त्र मात्र नभई इन्का सभ्यताको धार्मिक आस्था र वैज्ञानिक ज्ञानको प्रतीक पनि हो । यसलाई  इन्काहरूको अद्वितीय इन्जिनियरिङ र वास्तुकलाको प्रमाण मानिन्छ । जसले उनीहरूको प्राचीन सभ्यतालाई आजसम्म जीवित तुल्याएको छ ।

माचु पिचुको आन्डेने (मानव निर्मित गरा–कान्ला) मा खेती गरिन्थ्यो । ती गह्रामा पानीको निकास र सिँचाइमा विशेष ध्यान दिइएको पाइन्छ । वर्षा बढी हुने क्षेत्र भएकाले पानीको निकासलाई व्यवस्थित गरिएको थियो । गराको निर्माणमा खेतीका अतिरिक्त पहाडलाई भूक्षय र पहिरोबाट जोगाउने उद्देश्यसमेत राखिएको पाइन्छ । 

आसपासका क्षेत्रमा रहेका मूलको पानी सिँचाइ, खानेपानीका लागि प्रयोग गरिन्थ्यो । करिब ४.९ हेक्टरमा फैलिएको खेतीयोग्य जमिनमा मकै र आलु खेती गरिन्थ्यो । 


पर्यटकीय गन्तव्य

माचु पिचु पेरुको प्रमुख पर्यटकीय आकर्षण हो । प्रत्येक वर्ष लाखौँ पर्यटक त्यस प्राचीन स्थलको अवलोकन गर्न त्यहाँ पुग्छन् । माचु पिचुमा पुग्नका लागि कुस्को शहरदेखि ट्रेन वा पैदल यात्रा गर्न सकिन्छ । कतिपय पर्यटक ‘इन्का ट्रेल’ पदमार्गबाट माचु पिचु पुग्ने गर्छन् । जुन साहसिक यात्रा गर्नेका लागि लोकप्रिय छ ।

इतिहास, धार्मिक महत्व र वास्तुकलाले माचु पिचु संसारभरका मानिसका लागि आकर्षणको केन्द्र बनेको छ । माचु पिचुले पेरुको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक पहिचान निर्माणमा अहं भूमिका खेलेको छ ।   

–युवामञ्च

Author

रतन भण्डारी