• २ मंसिर २०८२, मङ्गलबार

अग्नीसाइर कृष्णासवरन विवाद : अन्तरिम आदेश दिन उच्च अदालतद्वारा अस्वीकार

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर २ गते ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष र कार्यवाहक अध्यक्षबिचको विवादमा उच्च अदालत जनकपुर राजविराज इजलाशले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पदबाट राजीनामा दिनुभएका अध्यक्ष दिनानाथ चौधरीले आफुले राजीनामा नदिएको भन्दै  दायर गर्नुभएको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अध्यक्ष चौधरीले परमादेशको आदेश जारी गरी पाउँ, साथै म निवेदकलाई गाउँपालिकाको अध्यक्ष भई कामकाज गर्न नरोक्नु नरोकाउनु अवरोध नगर्नु भनी विपक्षीहरुको नाउँमा तथा आफुलाई कार्यवाहक अध्यक्ष जनाई गाउँपालिकाको कुनै पनि कार्यक्रम सञ्चालन नगर्नु नगराउनु भनी विपक्षी गाउँपालिकाको उपाध्यक्ष कल्पना कुमारी चौधरीको नाउँमा अन्तरिम आदेश गरी पाउँ भन्ने रिट निवेदनमा माग गर्नुभएको थियो ।

दुबै पक्षलाई सोमबार छलफलमा बोलाएको उच्च अदालतको न्यायाधीश अचुतम कुमार आचार्यको इजलासले सुविधा तथा सन्तुलनको दृष्टिकोण समेतबाट हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने आदेश दिएको छ ।

नेपालको संविधानको धारा २१५ को उपधारा (८) मा भएको गाउँपालिकाको अध्यक्ष रिक्त हुने विषय समेतको संवैधानिक एवम् कानुनी पत्र, रिट निवेदन साथ संलग्न प्रमाण कागजातहरु, छलफलको क्रममा विपक्षीहरुबाट पेश भएका कागजातहरु तथा पछि पेश हुने लिखित जवाफ समेतको मूल्याङ्कन विवेचना गरी प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन तथा निरुपण हुनुपर्ने प्रकृतिको रहेको देखिएको सो सम्बन्धमा पछि हुने निर्णय प्रभावित हुने गरी सुविधा तथा सन्तुलनको दृष्टिकोण समेतबाट हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने उच्च अदातलले दिएको आदेशमा उल्लेख छ ।