• १५ असोज २०८१, मङ्गलबार

बाढीको चपेटामा देवघाटधाम

blog

अमरराज नहर्की 

तनहुँ, असोज १५ गते । अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ ।  त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीले गर्दा देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा रहेका धार्मिक, शैक्षिक र भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले देवघाटस्थित वेणी 

सङ्गममा रहेका मठमन्दिर, कुटी, गलेश्वर आश्रम र चितवनतर्फ रहेका धर्मशाला क्षति पुर्‍याएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । 

 त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । त्यस्तै बाढीले गर्दा देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले देवघाट गाउँपालिका–५ स्थित साँढेबगरमा रहेको महादेव आधारभूत विद्यालय डुबानमा परेको छ । विद्यालय भवन बाढीले डुबाउँदा सबै कागजात नष्ट भएको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले बताउनुभयो ।

छाब्दी खोलामा आएको बाढीले व्यास नगरपालिकाको वडा नम्बर १२ र १३ जोड्ने मोटर गुड्ने पुल भत्किएको छ । पुल भत्किँदा स्थानीय बासिन्दा तथा छाब्दीवाराही मन्दिर आउने भक्तजनलाई समस्या परेको छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले बताउनुभयो । बिहीबार रातिदेखि परेको अविरल वर्षाले राजमार्ग, सहायकमार्ग, धार्मिकस्थल, शैक्षिक संस्थालगायतका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय नोक्सान नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।