• १५ असोज २०८१, मङ्गलबार

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संयुक्त राज्य अमेरिकाकी उपविदेशमन्त्री उज्रा जिया भेटवार्ता गर्दै । तस्बिर : मन्त्री राणाको सचिवालय

वासिङ्टन डिसी, असोज १४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सोमबार संयुक्त राज्य अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ ।  

मन्त्री राणाको सचिवालयका अनुसार, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा  सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो । 

सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराउनु भएको थियो ।

मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराउनुभएको थियो ।  

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुग्नुभएकी मन्त्री डा राणा वासिङ्टन डिसीमा हुनुहुन्छ ।