• १४ असोज २०८१, सोमबार

तनहुँको १० वटै पालिकामा डेंगु सङ्क्रमण

blog

अमरराज नहर्की

तनहुँ, असोज १४ गते । तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिएको हो । 

आइतबारदेखि तनहुँको सबै पालिका डेंगुबाट प्रभावित भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार घिरिङ गाउँपालिकामा सङ्क्रमण फैलिएसँगै सबै पालिका प्रभावित भएको हो ।  

जिल्लामा हालसम्ममा झण्डै तीन हजार जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । व्यास नगरपालिका–७ का ५० वर्षीया पुरुषले हालै ज्यान गुमाएको छ । डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेसँगै तनहुँ उच्च जोखिममा परेको छ । 

चालु आर्थिक वर्षमा आइतबार सम्ममा जिल्लामा दुई हजार नौ सय ७२ मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । सङ्क्रमित बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सबैभन्दा धेरै आँबुखैरेनीमा सङ्क्रमण फैलिएको छ । 

आँबुखैरेनीमा एक हजार चार सय ३७ जनामा सङ्क्रमण भएको छ । त्यसपछि व्यास नगरपालिकामा धेरै बिरामी छन् । व्यासमा आठ सय ६९ जना बिरामी भएका छन् । शुक्लागण्डकी नगरपालिकामा तीन सय ९२ जना बिरामी भएका छन् । बन्दीपुर गाउँपालिकामा  एक सय ३६ जना र भिमाद नगरपालिकामा २२ जनामा सङ्क्रमण भएको छ । 

भानु नगरपालिकामा ३७, म्याग्दे गाउँपालिकामा ३० जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा तीन, देवघाट गाउँपालिका ३० जनामा सङ्क्रमण भएको छ । अन्य जिल्ला घर भई तनहुँमा बसोबास गर्ने १३ जनामा सङ्क्रमण भएको छ । 

चाडपर्वको समयमा डेंगुबाट सङ्क्रमण धेरै भएकाले बिरामीको चाप धेरै हुँदा उपचारमा समस्या भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउनुभयो । लामखुट्टेले फुल पार्ने ठाउँमा ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  

सङ्क्रमण तीव्र गतिमा फैलिएपछि रेडक्रसले समेत डेंगु रोग विरुद्धको अभियान गरिरहेको छ । अभियानमा स्वास्थ्य सचेतनालाई प्राथमिकता दिइएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा तनहुँ शाखाका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले बताउनुभयो । डेंगु नियन्त्रण तथा रोगथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट लगायतका कार्यक्रम सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ ।

डेंगुबाट जोगिन्नका लागि सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको व्यास नगर अस्पतालको प्रमुख डा. नबिना न्यौपाने बताउनुहुन्छ । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।